१५ वर्षदेखि अबैध औषधि पसल सञ्चालन गर्दै आईरहेका भुजुवा पक्राउ


नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–१ जोगा गाउँमा करिब १५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसलमा सरकारी टोलीले छापा मारेर ६३ वर्षीय पञ्चलाल भुजुवालाई पक्राउ गरेको छ ।
औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार साहका अनुसार घरभित्रै सञ्चालन गरिएको पसलबाट करिब ४० प्रकारका औषधिसहित तीन कार्टुन बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता वा औषधि बिक्रीको कानुनी अनुमति नरहेको खुलेको छ ।

भुजुवाले अवैध रूपमा औषधि सञ्चय गरी बिक्री–वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने गरेको उजुरी परेपछि औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक साह र निरीक्षक अमन चौधरीको नेतृत्वमा सुरक्षाकर्मी सम्मिलित टोलीले घरमा छापा मारेको थियो । भुजुवालाई औषधि ऐन विपरीत कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने बरामद औषधिको स्रोत, गुणस्तर र म्यादबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

