

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ ।
महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै महिला शिक्षकमाथि लाञ्छित, अपमानित शब्द र भाव प्रयोग गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको बताईएको छ ।
उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासङ्घले आग्रह गरेको छ । यता केही दिनदेखि विवादमा तानिएको दुर्गेश थापा र प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को एक गीतको शब्दलाई लिएर विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । मास्टर्नीको ‘ताराबाजी लैलै’ नामको गीतले महिला शिक्षक र शिक्षण पेसाप्रति अपमान गरेको र अर्मादित रहेको भन्दै उक्त गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा उजुरी दर्ता भएको हो ।

तनहुँको व्यास नगरपालिका– ११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले लिखित उजुरी दर्ता गराई गीत प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । दुर्गेश थापा र प्रियंका कार्कीको च्यानलबाट संयुक्त रुपमा अस्ति सो गीत रिलिज भएको थियो । गीतमा दुर्गेशकै लिरिक्स रहेको छ भने गायनमा उनलाई बबिना किरातीले साथ दिएकी छन् । गीतको भिडियोमा प्रियंकाका साथमा उनका श्रीमान आयूष्मान जोशी र आर्यन सिग्देलसमेत फिचर्ड छन् ।
गीत रिलिज लगत्तै टिकटकमा थुप्रैले भिडिओ बनाएर आलोचना सुरु गरेका छन् । गीतका शब्दलाई जानजान अनर्थ लाग्ने गरी उच्चारण गरिएको आरोप छ । गायिकाले ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए‘’ भन्ने शब्दहरु सहीरुपमा गाएकी छैनन् । आलोचनाको अर्को पाटो हो प्रियंकाको डान्स । उनी चलचित्रमा मास्टरनी अर्थात शिक्षिकाको भूमिकामा छिन् ।
शिक्षिका भन्नासाथ सबैले एउटा सम्मानित र मर्यादित पेशाका रुपमा लिन्छन् । तर, प्रियंकाले शिक्षिकाको छवि नै विगार्ने गरी गीतमा उछृङ्खलता र अश्लिलता प्रदर्शन गरेको धेरैको आरोप छ । खासगरी दुर्गेश थापासँग उनका केही डान्स स्टेपहरु निकै भद्दा छन् ।












