

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमितता सम्बन्धि उजुरी संकलन गर्ने अवधि थपिएको छ ।
रेडक्रस अनियमितता छानबिन समितिले आज पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ ३ गते बुधवारसम्म उजुरी दिन सकिने जनाएको हो । समितिका अध्यक्ष डा.दिपेश घिमिरेले उजुरी दिएर संस्थाको सुशासन, पारदर्शिता र जनविश्वास जगाउनका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

प्राप्त सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र र गोप्य ढंगले व्यवस्थापन गरिने उनले बताए । यस अघि असार १० गतेबाट ३५ दिनभित्र उजुरी आव्हान गरिएकोमा उजुरी आउने क्रम जारी रहेकाले २० दिन समय थप गरिएको समितिले जनाएको छ । पछिल्लो समय संस्थाको छवि र निष्ठामा नकारात्मक प्रभाव परेको भन्दै त्यसको निराकरणका लागि छानबिन प्रक्रिया अघि बढाइएको समितिका अध्यक्ष डा.घिमिरेले बताए ।
प्राप्त उजुरी तथा गुनासोको अध्ययन गर्न बनेको समितिमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान विज्ञ डा. घिमिरेको नेतृत्वमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेका छन् ।











