

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा कार्यक्रमका स्नातक विद्यार्थीहरुलाई लक्षित गरी रोजगारीको अवस्था तथा रोजगारीका अवसर विस्तार गर्ने बारेमा छलफल भएको छ ।
विश्वविद्यालयका पदाधिकारीसहित दक्षिण कोरियास्थित लीडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन (लुपिक) परियोजनाका अधिकारीबीच आज सु्र्खेतका वीरेन्द्रनगरमा शिष्टाचार भेटघाट तथा छलफल भएको हो । मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेशनअन्तर्गत सञ्चालित विशेष आवश्यकता शिक्षा कार्यक्रम उत्तीर्ण विद्यार्थीहरुको रोजगारीको अवस्था तथा सम्भावित रोजगारीका अवसर विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ ।


आगामी दिनमा विश्वविद्यालय र लुपिक परियोजनाबीचको सहकार्य र सम्बन्ध विस्तार गर्ने विषयमा समेत गहन छलफल भएको हो । पदाधिकारीस्तरीय छलफल कार्यक्रमपूर्व विशेष आवश्यकता शिक्षा अध्ययनरत विद्यार्थी, प्राध्यापक र लुपिक परियोजनाका अधिकारीबीच लुपिक परियोजनाको अन्तिम मूल्याङ्कनका लागि विद्यार्थी छलफल कार्यक्रम भएको थियो ।
लुपिक परियोजनाले मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालित विशेष आवश्यकता शिक्षा कार्यक्रमको सञ्चालन तथा प्रवर्द्धनका लागि छात्रवृत्ति, सिकाइ आदान–प्रदान भ्रमण तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
छलफलमा विश्वविद्यालयका उपकुलपति राजन सुवाल, रजिष्ट्रार अर्जुनबहादुर अयडी, ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन आनन्दप्रसाद सुवेदी र लुपिक परियोजनाका निर्देशक प्राध्यापक डाए योङ जङ, डीन पूर्णमान श्रेष्ठ, कार्यकारी निर्देशकद्वय डा. विष्णुकुमार खड्का र डा. यदुप्रसाद ज्ञवाली, परीक्षा व्यवस्थापन प्रमुख डा. ज्ञानप्रसाद पौडेल, लुपिक परियोजनाका तर्फबाट नेपालस्थित परियोजना व्यवस्थापक किम यूनयोङलगायतको सहभागिता रहेको थियो ।












