

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तिब्बत क्षेत्रमा गएको भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुन सक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट घटनाबारे जानकारी दिँदै मन्त्री खनालले भूकम्पपछि हिमपहिरो गएको र त्यसकै कारण बाढी आएको हुन सक्ने प्रारम्भिक विवरण प्राप्त भएको बताए ।

यद्यपि यसको थप पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ । उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको थियो । त्यसको केही मिनेटपछि, करिब ८ बजेर ४० मिनेटमा बाढी आएको जानकारी उनले संसदलाई दिए । ‘प्रारम्भिक सूचनाअनुसार ८ बजेर ३७ मिनेटमा त्यस क्षेत्रमा भूकम्प गएको, भूकम्पका कारण हिमपहिरो खसेको र त्यसबाट बाढी आएको भन्ने विवरण प्राप्त भएको छ,’ मन्त्री खनालले भने, ‘यसलाई थप पुष्टि गर्नुपर्ने आवश्यकता छ ।’
बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायत क्षेत्रमा क्षति पुगेको उनले जानकारी दिए । मन्त्री खनालले घटनामा केही नेपालीको ज्यान गएको सूचना पनि सरकारलाई प्राप्त भएको बताए । घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको उनले उल्लेख गरे । आर्थिक अभियान












