

काठमाडौं । रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ४८९ पुगेको छ ।
नेपाल प्रहरीले शुक्रबार जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार मृत्यु हुनेको संख्या ४८९ पुगेको पुष्टि भएको हो । ती मध्ये रसुवाबाट १३, धादिङबाट ४०, गोरखाबाट ४४, नवलपरासी (पूर्व) बाट ११२, नुवाकोटबाट ३७, चितवनबाट १८६, तनहुँबाट २९ र नवलपरासी (पश्चिम) बाट २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्राप्त विवरण अनुसार, बाढीपछि १२१ जना विदेशी नागरिकको उद्दार गरिएको छ । बाढीपछि सम्वर्कविहीन भएका १२१ जना विदेशी नागरिकको उद्दार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार भारतका ८५ जना, चीनका १६ जना, दक्षिण कोरियाका ९ जना, अमेरिकाका २, रुसका २, इटलीका २, बुल्गेरियका १, स्वीट्जरल्यान्डका १ र राष्ट्रियता नखुलेका ३ जना छन् ।
बाढीपछि नेपालमा सम्पर्कविहीन ९७७ र चीनमा बेपत्ता ५५८ गरी कुल एक हजार ५३५ जना प्रभावितको अवस्था अझै अज्ञात रहेको छ ।लगातारको वर्षा, नदी थुनिएर बनेको ताल र थप पहिरोको जोखिमका कारण उद्दार कार्य चुनौतीपूर्ण बनेको छ ।
यसका साथै प्रभावित जिल्लाहरुमा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी फौज खटाइएको छ । परिचालित फौजले अन्य निकायसँगको समन्वयमा घाइतेहरुको खोज तथा उद्दार, आपत्कालीन उपचार र राहत सामग्री वितरण कार्यलाई युद्धस्तरमा अघि बढाइरहेको छ ।












