

सुर्खेत । सुर्खेतमा करदातालाई कर कानुन, छुट सुविधा, र कर तिर्ने प्रक्रियाका बारे जानकारी दिने उद्देश्यले करदाता शिक्षा कार्यक्रम शुरु गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय सुर्खेतले करदातालाई मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र आर्थिक ऐन २०८३ ले व्यवस्था गरेका छुट सुविधाहरुका बारेमा जानकारी दिने उद्देश्यले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा नवप्रवर्तनकारी करदाता प्रोत्साहन पुरस्कारसँगै आर्थिक ऐन, २०८३ ले प्रदान गरेका छुट, सहुलियत र सुविधाबारे करदातालाई जानकारी गराईएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐनमार्फत सरकारले नागरिकमा बिल लिने र व्यवसायीमा बिल दिने संस्कृतिको विकास गर्न यो कार्यक्रम कार्यान्वयनमा ल्याईएको हो ।


आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख कर अधिकृत चक्रप्रसाद ढुङगानाले आर्थिक ऐन, २०८३ ले व्यवस्था गरेका कर छुट तथा सहुलियतहरुको अधिकतम उपयोग गर्न करदातालाई आग्रह गरे । उनले करदाता प्रोत्साहन कार्यक्रम मार्फत ‘बिल लिने र बिल दिने’ संस्कृतिको प्रवद्र्धन गरी सचेत उपभोक्ता बन्न सुझाव दिए ।
समयमा कर तिर्न प्रेरित गर्ने र करसम्बन्धी अन्य द्विविधा तथा समस्याहरु समाधान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमले करदाता सचेतना अभिवृद्धि गर्नुका साथै उद्योगी, व्यवसायीलाई कर प्रणालीप्रति विश्वास बढाउन सहयोग पुगेको बताए ।
कार्यालयका कर अधिकृत जयस पन्तले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कसम्बन्धी कानुनी व्यवस्था तथा कर प्रणालीको सारका बारेमा जानकारी दिए । कार्यक्रमको विषयवस्तु तथा सहजीकरण कर अधिकृत यग्ज्ञराज ढकालले गरेका थिए ।













