

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले एमालेलाई विभिन्न माध्यमबाट गाली गरिनुलाई स्वाभाविक राजनीतिक प्रतिस्पर्धाकै हिस्साको रुपमा बुझ्न आग्रह गरेका छन् ।
आइतबार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको भेटघाट कार्यक्रममा अध्यक्ष शाहले जेन्जी आन्दोलनपछि विगतमा राज्यका तर्फ बाट भएका सबै गलत निर्णयहरुको दोषजति एमाले पार्टी र नेताहरुलाई थुपारेर सामाजिक सञ्जाल मार्फत अभद्र गाली, तीव्र आलोचना, ट्रोल गर्ने कार्य अहिलेपनि जारी भईरहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा देखिने यस्ता आलोचनाहरु कहिलेकाहीं स्वस्थ बहसभन्दा बाहिर गएर अभद्र र अमर्यादित बन्दा पार्टीलाई समेत चिन्ता र चाँसोको विषय बन्दै गईरहेको जनाए । विरोधीहरुले पार्टीभित्रका सानातिना मतभेदहरुलाई पनि कमजोरीका रुपमा प्रस्तुत गरेर राजनीतिक लाभ लिन खोज्नु संसदीय राजनीतिमा आम अभ्यास भएको उनको भनाइ थियो ।
‘लोकतान्त्रिक व्यवस्थामा ठूला राजनीतिक दलहरुभित्र आन्तरिक बहस, छलफल, फरक मत र असन्तुष्टि हुनु स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘आलोचकहरुले यस्ता आन्तरिक छलफल र विवादलाई ‘कमजोरी’ वा ‘पार्टीभित्रको झगडा’ को रुपमा व्याख्या गर्नु पनि स्वाभाविक राजनीतिक प्रतिस्पर्धाकै हिस्सा हो ।’
उनले एमाले देशकै सबैभन्दा अनुशासित, बलियो संगठनका रुपमा अहिलेपनि पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुले हेर्ने गरेको बताए । उनका अनुसार पार्टी गतिविधि चलायमान बनाउन पार्टीले सदस्यता नवीकरणसँगै नेता, कार्यकर्ताहरुलाई जनतामाँझ जोड्ने विभिन्न आन्तरिक कार्यहरु गरिरहेको छ ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले एमाले देशको एक प्रमुख र संगठित राजनीतिक शक्ति हो भन्ने कुरामा कुनै शंका नगर्न आग्रह गरिन् । ‘राजनीतिक घटनाक्रमले आन्तरिक समीकरणहरु फेरबदल भइरहँदा पार्टीका गतिविधि केही सुस्ताएको जस्तो देखिएको मात्र हो,’ उनले भनिन्, ‘अर्कोतर्फ तल्लो तहसम्म ठूला जनपरिचालनका कार्यक्रमहरु नहुनुले सांगठनिक गतिविधि सुस्ताएको जस्तो मात्र देखिएको हो ।’
उनले ठूला आमसभाहरु नभए पनि केन्द्रीय सचिवालय र प्रदेश कमिटीहरुका नियमित आन्तरिक बैठकहरु नियमित भइरहेको जानकारी दिइन् । उनका अनुसार आगामी स्थानीय र प्रदेशको निर्वाचन लक्षित पार्टीका नीति तथा कार्यक्रमहरुलाई जनतामाझ लैजाने रणनीति बनाइँदैछ । पार्टीभित्र हुने आन्तरिक छलफल, भेटघाट र बहसले लोकतान्त्रिक जगलाई बलियो बनाउँने बताउँदै उनले पार्टीको नीति, नेतृत्व र कार्यदिशाले संगठनलाई थप परिपक्व बनाउने बताईन् ।
यसअघि प्रेस चौतारी नेपाल कर्णाली प्रदेश इन्चार्ज यामप्रसाद शर्माले पार्टी र संगठनका गतिविधि सुस्ताउँदा आम कार्यकर्तामा निराशा बढेको र संगठनप्रतिको आकर्षण घटेको जस्तो देखिएको बताए । उनले पछिल्लो समय पार्टीको ध्यान संगठन निर्माण, वैचारिक प्रशिक्षण र जनताका आधारभूत समस्या समाधान तर्फ सुस्ताउँदा कार्यकर्ता र शुभचिन्तकमा निरासा बढ्न थालेको जनाए । कार्यकर्तालाई गतिशील बनाउने वैचारिक स्कुलिङ र नियमित प्रशिक्षण कार्यक्रमहरु तल्लो तहसम्म पुग्न नसक्दा पार्टीभित्र निष्क्रियता बढेको उनको भनाइ थियो ।












