

वीरेन्द्रनगर । सुर्खेतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महेन्द्रकुमार सापकोटाले जिल्लामा सुशासनको अनुभूति जिल्ला प्रशासन कार्यालयबाटै प्रारम्भ हुने बताएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ सापकोटाले जिल्लामा सुशासन, शान्ति सुरक्षा र विकास निर्माणलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग गरी विकास निर्माण कार्यमा सिडिओलाई प्राप्त अधिकार क्षेत्र पूणरुपले उपयोग हुनेमा विश्वस्त हुन आग्रह गरे ।
जिल्लाको प्रशासनिक नेतृत्व सम्हालेलगत्तै उनले स्थानीय नागरिकलाई विधिको शासन र चुस्त सेवा प्रवाहको अनुभूति दिलाउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने जनाए । ‘सरकारी कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई पारदर्शी, छिटो–छरितो र नागरिकमैत्री बनाईनेछ,’ उनले भने, ‘जिल्लाभित्र अमनचयन कायम गर्न र अपराध नियन्त्रणका लागि सुरक्षा निकायहरु पूर्व तयारीमा रहने छन् ।’

उनले विकास आयोजनाहरु समयमै सम्पन्न गर्न देखिएका अवरोधहरुलाई हटाउँदै निर्माण कार्यलाई तीव्रता दिन सहजीकरण गरिने जनाए । सुशासन, शान्तिसुरक्षा र विकास निर्माण आर्थिक तथा सामाजिक प्रगतिका आधारस्तम्भ रहेको बताउँदै उनले प्रशासनिक तथा शान्ति सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरे ।
‘जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबैप्रकारका सूचनाहरु सहजै उपलब्ध गराईने छ,’ उनले भने, ‘प्रमाणसहित सत्य, तथ्य र विश्वासनीय सूचना मात्र प्रवाह गरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दछु ।’ उनले एउटा सानो गलत सूचनाले आजको डिजिटल युगमा कति ठूलो असर पुग्छ भन्ने तर्फ सबैजना सचेत र सजग हुनुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा सूचनाको हकलाई प्रत्याभूत गर्न र प्रशासन तथा आम नागरिकबीच सञ्चारको पुल बन्न प्रजिअ सापकोटको कदमले मद्दत पुग्ने देखिएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले बताए ।












