

सुर्खेत । जाजरकोट प्ररहीले भेरी नगरपालिका–७, दह बजारका विभिन्न होटल तथा भट्टी पसलहरुमा छापामा मारी अवैध घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ ।
प्रहरीले विहीबार खोजतलासी गर्ने क्रममा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थसँगै करिब २६० लिटर अवैध घरेलु मदिरा फेला पारी नष्ट गरेको हो । मदिराले शारीरिक तथा मानसिक स्वास्थ्यमा हानि पु¥याउने र सामाजिक अपराधका घटना हुने भन्दै प्रहरीले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउँदै आएको छ ।
ईलाका प्रहरी कार्यालय जगतिपुर, जाजरकोटबाट प्रहरी सहायक निरीक्षक कबिराम जैसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिणामको अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर स्थानीय भद्रभलाद्मीहरूको रोहवरमा नष्ट गरेको हो ।


जाजरकोटमा स्थानीय प्रशासनसँगै पालिका सरकारहरुले समाजमा आपराधिक गतिविधि नियन्त्रण गर्न र नागरिकको स्वास्थ्य रक्षा गर्न अवैध घरेलु मदिरा तथा यसको कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गर्ने अभियान निरन्तर चलाउँदै आएका छन् ।
स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने र समाजमा झैझगडा तथा घरेलु हिंसा बढाउने भएकाले प्रहरीले यसलाई गैरकानुनी घोषणा गरी नष्ट गर्ने गरेको हो । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न मातहतका निकायलाई निर्देशन दिँदै आइरहेको छ ।












