

सुर्खेत । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारसँगै संस्थागत सहकार्य आवश्यक रहेको कर्णालीका सरोकारवालाले औल्याएका छन् ।
‘युवा र बालबालिकाको वातावरणीय अधिकार, दिगो भविष्यको आधार’ नारासहित सुर्खेतको वीरेन्द्रनगरमा भएको तीनदिने राष्ट्रिय युवा सम्मेलनका सहभागीहरुले नयाँ पुस्तालाई जलवायु परिवर्तनले पारेको असरलाई न्यूनिकरण गर्न सबैपक्ष जुट्न आग्रह गरिएको हो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले वातावरण संरक्षण र जलवायु न्यायका लागि युवा सहभागिता महत्वपूर्ण रहेको बताईन् । वातावरण संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले विकास निर्माण र सामाजिक अभियानमा युवालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिईन् ।

त्यस्तै मन्त्रालयका सचिव अजितकुमार कर्णले वातावरणीय समस्यामा बालबालिका र युवाको योगदान तुलनात्मकरुपमा न्यून भएपनि त्यसको सबैभन्दा बढी असर उनीहरुले भोग्नुपर्ने अवस्था रहेको बताए । वातावरणीय क्षयीकरण, प्रदूषण, प्राकृतिक स्रोतको अव्यवस्थित दोहन र जलवायु परिवर्तनले मानव स्वास्थ्य, खाद्य सुरक्षा, शिक्षा तथा भावी पुस्ताको भविष्यमा पारिरहेको असरबारे विज्ञहरुबाट विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।
टिडीएच जर्मनीको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह (सहास नेपाल), बीवाईसी बागलुङलगायत संस्थाले आयोजना गरेको सम्मेलनमा नौ सामाजिक संस्थाका १४ कार्यालय सदस्य र ३२ युवा सदस्य सहभागी रहेको सहास नेपालका देवेन्द्र लामाले जानकारी दिए । सम्मेलनले वातावरणीय अधिकार र जलवायु न्यायबारे युवाको बुझाइ अभिवृद्धि गर्ने टिडीएचकी प्रतिनिधि एलिजा तुलाधरले बताईन् ।
सम्मेलन मार्फत हरित रोजगारी तथा युवा उद्यमशीलताका अवसर पहिचान गरी स्थानीय वातावरणीय चुनौतीको व्यावहारिक समाधान खोज्ने प्रयास गरिएको उनको भनाइ छ । युवालाई वातावरणीय निर्णय प्रक्रियामा सहभागी गराई नेतृत्वकर्ताकारुपमा स्थापित गर्न सम्मेलनले सहयोग पुगेको उनले बताईन् ।











