

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जाको साँवा तथा ब्याज लामो समयदेखि भुक्तानी नगर्ने सयौं महिला उद्यमी तथा व्यक्तिगत जमानीकर्ताको नाम सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण बक्यौता चुक्ता नगरे कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
सरकारले महिलाको वित्तीय पहुँच विस्तार र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत बैंकले ‘महिला उद्यमशीलता विकास कर्जा’ प्रवाह गरेको थियो । विनाधितो उपलब्ध गराइएको उक्त कर्जा लिएपछि पनि सम्झौताअनुसार साँवा र ब्याज भुक्तानी नगर्ने ऋणीहरूको नाम बैंकले सार्वजनिक गरेको हो ।
बैंकको कर्जा असुली विभागले २०८३ कात्तिक २० गते सूचना प्रकाशित गर्दै ऋणी तथा जमानीकर्तालाई ३५ दिनभित्र सम्बन्धित शाखामा उपस्थित भई साँवा, ब्याज, हर्जाना ब्याज र अन्य दस्तुरसहित सम्पूर्ण बक्यौता बुझाउन भनेको छ । यसअघि पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि भुक्तानी नभएपछि सार्वजनिक सूचना जारी गरिएको बैंकले जनाएको छ ।

तोकिएको अवधिमा ऋण चुक्ता नगरे ऋणी, प्रोप्राइटर तथा व्यक्तिगत जमानीकर्ताको नाम कर्जा सूचना केन्द्रको निर्देशनअनुसार कालोसूचीमा राखिनेछ । त्यस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राहदानी रोक्का तथा जफत गर्न सिफारिस गरिने र विदेश भ्रमणमा समेत प्रतिबन्ध लाग्न सक्ने सूचनामा उल्लेख छ ।
यसका अतिरिक्त ऋणीका बैंक खाता तथा चलअचल सम्पत्ति रोक्का गर्ने, सरकारी सुविधा प्राप्तिमा अवरोध पु¥याउन सम्बन्धित निकायमा लेखी पठाउने र निजी सम्पत्ति लिलाम गरी बाँकी कर्जा असुल गर्ने प्रक्रिया अघि बढाइनेछ ।
बैंकले सार्वजनिक गरेको सूचीमा धनकुटादेखि धनगढीसम्मका विभिन्न शाखाबाट कर्जा लिएका उद्यमी समेटिएका छन् । कृषिफर्म, सिलाइकटाइ, ब्युटीपार्लर, खाजाघर, फलफूल तथा तरकारी व्यवसाय, पशुपालन र डेरी उद्योग सञ्चालनका लागि लिइएको कर्जा भुक्तानी हुन नसकेको देखिन्छ । कानुनी प्रक्रियामा लाग्ने खर्चसमेत ऋणी र जमानीकर्ताबाटै असुल गरिने बैंकले जनाएको छ ।










