

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्न आजदेखि सुरु गरेको छ ।
बन्द प्रशिक्षणको औपचारिक शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले पदक जित्नेगरी तयारी अभ्यास गर्न खेलाडीहरुलाई सुझाव दिएका छन् । खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रुपमा जुट्न आग्रह गरेका हुन् ।

पहिलो चरणमा ह्याण्डबल र ब्याटमिन्टिन खेलका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । ह्याण्डबलका ३४ जना र ब्याडमिन्टिनका १२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको परिषद्का सदस्य सचिव रविन्द चन्दले जानकारी दिए । खेलाडीहरुले दैनिक २ पटक अभ्यास खेल खेल्नुपर्ने भएका कारण यसपालिको तिहारमा विदा दिइएको छैन् ।
परिषद्का अनसार खेलाडीहरुलाई मंसिर १४ गतेसम्म बन्द प्रशिक्षणमा राखिने छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय टोली र गैरआवासीय नेपाली संघसहितका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
३२ खेल विधा समावेश गरिएको प्रतियोगिताको उद्घाटन मंसिर १६ गते हुनेछ ।











