२०८३ मंसिर ९ , मंगलबार
Sky News Nepal
November 24, 2026

सुर्खेतमा क्रियाशील राजनीतिक दलद्वारा दशौं राष्ट्रिय खेलकुदलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक रुपमा सफल पार्न सुर्खेतस्थित विभिन्न राजनीतिक दलहरुले एकजुट भई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको अध्यक्षतामा बसेको सुरक्षा निकाय, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुसँगको बैठकमा राष्ट्रिय खेलकुद कर्णाली प्रदेशकै गौरवको विषय भएकाले दलीय स्वार्थभन्दा माथि उठेर प्रतियोगिता सम्पन्न गर्न पूर्ण सहयोग गर्ने दलहरुले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलहरुले आ–आफ्नो तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने बचन दिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

‘देशभरबाट आउने खेलाडी, प्रशिक्षक, अफिसियल तथा पाहुनाहरुलाई न्यानो आतिथ्य प्रदान गर्न र प्रतियोगिता अवधिभर शान्तिपूर्ण वातावरण कायम राख्न दलहरुले सहयोग गर्ने बताएका छन्,’ उनले भने, ‘यसअघि पनि प्रतियोगिताको माहोल सिर्जना गर्न सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बृहत्  र्‍याली तथा प्रचारप्रसारका कार्यक्रमहरुमा समेत राजनीतिक नेतृत्व, जनप्रतिनिधि र स्थानीयवासीले सक्रिय सहभागिता जनाएका थिए ।’

उनले शान्ति सुरक्षा, यातायात व्यवस्थापन, पाहुनाको आवागमन, आवास, खानपानलगायतका विषयमा समेत सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने सहमति भएको जनाए ।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते मंगलबार
Translate »