कटकुवा जंगलमा २३ गाई मृत फेला

१५० भन्दा बढी घाइते

बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जंगलमा २३ गाई मृत भेटिएका हुन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जंगलमा छाडिएको बताए ।


९ वटा गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ । जंगलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन् । ‘हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ,’ प्रहरी निरीक्षक सिजापतिले भने । स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ । (रासस)

Translate »