छमछमी नाचे सुर्खेतका महिला उद्यमी
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर सुर्खेतका महिला उद्यमी ‘छमछमी’ नाचेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला महिला उद्यमी समिति, सुर्खेतले शनिबार सुर्खेतको बुलबुले तालमा आयोजना गरेको तिज विशेष कार्यक्रममा महिला सशक्तिकरणसँगै संस्कृतिको जगेर्ना गर्न उनीहरु ‘छमछमी’ नाचेका हुन् ।
नारीहरुका बेदनाले भरिएका तिज गीत बज्न थालेपछि रमाइलो हेरीरहेका नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका पदाधिकारी समेत नाच्न थाले थिए । उनीहरुले लोप हुँदै गैरहेको मौलिक संस्कृतिको संरक्षण र सम्बर्धनमा जुटन सबै दिदीबहिनीहरुलाई सबैलाई आग्रह गरे । तिज विशेष कार्यक्रममा महिला उद्यमी संघ कर्णाली प्रदेश सचिव गोमा वलीले महिलाहरु सीप र शिक्षामा आत्मनिर्भर हुनु आवश्यक रहेको बताईन् ।
उनले आफनो हातमा सीप र शिक्षा नहुँदा आज धेरै महिलाहरु पछाडि परेकोले अबको समय सिप र शिक्षामा महिलाहरु अग्रसर हुनुपर्ने आवश्यकता औल्याइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले महिलाहरु शिक्षीत भएर मात्र पनि नहुने भन्दै उद्यमशिल बन्नुपर्ने बताए । उनले उद्यम विना जिवन सार्थक नहुने हुँदा महिलालाई उद्यमी बनाउन आफुँले सक्दो सहयोग गर्ने बचन दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेत जिल्ला अध्यक्ष सुमननाथ योगीले तिजलाई भड्किलो र खर्चिलो भन्दा पनि भेटघाट र आफनो अवस्था अनुसारको मनाउन आग्रह गरे । महिलाले आफनो संस्कृतिलाई नभुलि तिजलाई विकृत्तिरहित बनाउन सुझाव दिए ।
महिला उद्यमी संघ सुर्खेतका अध्यक्ष रुपाकुमारी भण्डारीले संस्कृतिको जगेर्नाका साथै दिदीबहिनीहरु वीच एकता, सद्भाव कायम गर्न तीज विशेष कार्यक्रम आयोजना गरिएको बताईन् । उनले तिजलाई भड्कीलो र तडक भडक भन्दा सरल र सहज तरिकाले मनाउन लागिएको उल्लेख गरिन् । तिज पर्वबाट महिला सशक्तिकरणमा थप टेवा पुग्ने उनको अपेक्षा छ । कार्यक्रममा महिला मगर संघ सुर्खेतका अध्यक्ष नन्दकलि थापामगर, नेपाल घरेलु तथा साना उद्योग महासंघ वीरेन्द्रनगर नगरमहासंघका निवर्तमान अध्यक्ष भिमबहादुर भण्डारी, निवर्तमान वरिष्ठ उपाध्यक्ष डिलबहादुर खत्रीलगायतले तिजको अवसरमा शुभकामना राखेका थिए ।