दशैंको भोजमा अचार खाँदा ३१ बिरामी

स्काई न्यूज /असोज २२, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैंको भोजमा अचार खाएका ३१ जना बिरामी परेका छन् । स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाईएको अचार खाँदा राप्रसादका परिवारसहित दशैंको टिका लगाउन आएका पाहुना सबै विरामी परेका हुन् । दशैंको भोजमा अचार खाएलगत्तै बुधबार विहानदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन् ।

चिकित्सकका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । बिरामी भएका मध्ये १६ जना माया नर्सिङ्ग होम र बाँकी राना मेडिकल हल र बोहरा फार्मेसीमा उपचार भएको रामप्रसादका साला हिमप्रसाद पौडेलले बताए । उनका अनुसार सोही घरमा दशैको भोज खाएका केही व्यक्तिहरु सामान्य उपचारपछि घर फर्किसकेका छन भने सिकिस्त ३ जनाको माया नर्सिङ्ग होममा भर्ना गरेर उपचार भईरहेको छ ।


माया नर्सिङ्ग होमका डाक्टर कृष्णदेव गिरीले ‘फुड प्वाईजन’ भएको हुन सक्ने बताए । जुन वस्तु खाएको हो ति वस्तुहरुको नमूना परीक्षण गरेर कारण वास्तविकता पत्ता लाग्ने डा. गिरीको भनाई छ । ‘फुड प्वाईजन’ को अवधि ७२ घण्टासम्म रहने भएकाले चिन्ता गर्नुपर्ने स्थिती नरहेको उनले जानकारी दिए ।

Translate »