कर्णालीका १५ हजार विद्यार्थीलाई जापानी झोला

स्काई न्यूज /मंसिर १६, सुर्खेत ।
कर्णालीका दुरदराजका क्षेत्रका विद्यार्थीलार्य जापानी झोला वितरण गरिने भएको छ । रुपान्तरण नेपालद्वारा यू मी नेपाल–जापनको सहयोगमा कर्णालीका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने कक्षा ४ देखि आठसम्म अध्ययनरत १५ हजार विद्यार्थीहरुका लागि जापानी झोला उपहार स्वरूप वितरण गर्न लागिएको हो । यसअघि जापानी झोला सहयोग कार्यक्रम अन्तर्गत आगलागी पीडित वस्ती कालिकोटको पलाँता गाउँपालिकाका २ हजार ६ सय विद्यार्थीहरुलाई झोला वितरण गरिसकिएको रुपान्तरण नेपालले बताएको छ ।

रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले कर्णाली प्रदेश प्राकृतिक रुपमा स्रोत साधनले सम्पन्न भएपनि दक्ष जनशक्ति अभावले विकासमा पछाडी परेकाले शिक्षाको गुणस्तर बृद्धिमा राज्यले विशेष जोड दिन आवश्यक रहेको औल्याए । उनका अनुसार दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, सल्यानको शारदा नगरपालिकाका सार्वजनिक विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई झोला वितरण कार्यक्रम रहेको जानकारी दिए ।

‘कार्यक्रमले सुर्खेतका दृष्टिविहिन, बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थी पढ्ने ३ वटा विद्यालयका विद्यार्थीहरुलाई समेत समिटिने छ,’ उनले भने, ‘जापानी झोला वितरण कार्यक्रम आउँदो पौष पहिलो साता भित्रै सम्पन्न गरिने छ ।’ यता प्रतिनिधि सभा सांसद दुर्गबहादुर रावतले रुपान्तरण नेपाल र यु मी नेपाल–जापानको संयुक्त प्रयासबाट प्रदेशका दुरदराजमा रहेका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सात समुन्द्रपारी जापानबाट झोला उपहार आएको प्रति प्रशंसा व्यक्त गरे । हातमा किताव कापी च्यापेर विद्यालय जान बाध्य विद्यार्थीहरुलाई यो कोसेलीले पढाईप्रति थप प्रेरित गर्ने उनको विश्वास छ । पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले जापानी झोला सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अमूल्य उपहार भएको बताए । उनले पलाँताका विद्यार्थीहरुलाई समेट्ने गरी जापानबाट बालबालिकाका लागि झोला उपलब्ध गराएकोमा रुपान्तरण नेपाल र युमी नेपाल–जापानलाई विशेष धन्यवाद व्यक्त गरे ।

Translate »