भ्रष्टाचार विकासको मुख्य बाधकः मुख्यमन्त्री शाही

स्काई न्यूज/ मंसिर २५, सुर्खेत ।
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचार कर्णालीको विकासका लागि मुख्य बाधकको रुपमा रहेको बताएका छन् । उनले भ्रष्टाचार गर्ने  राष्ट्र सेवक तथा सार्वजनिक पद धारण गरेको व्यक्ति भएपनि नियत तथा निष्ठा भन्दा माथि केही नरहेकाले त्यस्तो कार्य नगर्न आग्रह गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री शाहीले राष्ट्रसेवक कर्मचारीसँगै सरोकारवालालाई पर्याप्त मात्रामा सेवा सुविधा दिनसके भ्रष्टाचारको मात्रा केही हदसम्म कमी आउने विश्वास व्यक्त गरे । ‘भ्रष्टाचार यति बेला एउटा आदतको रुपमा विकास भएको छ, यसको समस्या मात्र केलाउने नभई समस्या समाधान गर्न सबै पक्षबाट गम्भिर हुनु जरुरी छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि सबै भन्दा पहिले ‘म’ बाट शुरु गरि नियन्त्रणका लागि देखाउने प्रतिबद्धता मात्र नभई वास्तविक प्रतिवद्धताको आवश्यकता छ ।’ उनले हरेक व्यक्तिको नियत र निष्ठा सही बनाउने शिक्षा पद्धति अहिले आवश्यकता रहेको बताए ।

 

कर्णाली प्रदेश सरकार भ्रष्टाचार न्युनिकरण तथा शुन्य सहनशीलताको विकासका लागि प्रतिवद्ध रहेको बताउँदै मुख्यमन्त्री शाहीले आयोगसँग सहकार्य गर्न तत्पर रहेको जिकिर गरे । आगामी दिनमा संघ, प्रदेश र स्थानीय तीनै तहका राष्ट्रसेवक, सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम गरी सबै सरोकारवालाहरुमा सचेतना अभिबृद्धि गर्न आयोगलाई उनले सुझाए । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले नेपालमा भ्रष्टाचार बढिरहेकोमा दुःख व्यक्त गर्दै भने, ‘हामीहरुसंग एक जनाले प्रतिवद्धता गरेर के हुनछ ? एक जनाले भ्रष्टाचार गरेर के हुन्छ ? के फरक पर्छ ? भन्ने जस्ता प्रवृत्तिले दुधको पोखरी होइन पानीको पोखरी बनेको र भ्रष्टाचार बढेको दृष्टान्तहरु धेरै छन् ।’ उनले समाजमा बसुनजेल शिर निहुर्याएर हिड्न नपरोस भन्ने हेक्का राख्दै अनियमितता नहुने गरी सबै सबै पक्ष सचेत रहन आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले परिवर्तन गर्न, देश बनाउन सबैभन्दा पहिले सकरात्मक सोचको विकास हुन आवश्यक रहेको औल्याए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालय प्रमुख शेषनारायण पौडेल, नेपाल पत्रकार महासघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, गैरसरकारी महासंघ कार्णाली प्रदेश अध्यक्ष घनश्याम केसीलगायतले भ्रष्टाचार न्यूनिकरणका लागि सबै पक्षबाट पहल आवश्यक रहेको औल्याए । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश मन्त्रालयका सचिवहरु, सुर्खेतस्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुखरप्रतिनिधिलगायतको सहभागिता रहेको आयोगका शाखा अधिकृतद्वय विश्वमंगल शर्मा एवं कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Translate »