१८–४९ उमेर समूहका वेरोजगारलाई रोजगारी

स्काई न्यूज /मंसिर २५, सुर्खेत ।
चौकुने गाउँपालिकाले स्वरोजगार अभिबृद्धि कार्यक्रम ल्याएको छ । गाउँपालिकाले सबैले काम गर्न पाउने अवस्थाको सुनिश्चितता गर्दै श्रमशक्तिलाई दक्ष तथा व्यावसायिक बनाई स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने अभिप्रायले उक्त कार्यक्रम ल्याएको हो । रोजगारीको सुनिश्चतता नहुँदा बेरोजगारी एवम् गरिवी ठूलो समस्याको रुपमा रहेकाले यस्तो कार्यक्रम ल्याउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए । उनले गाउँपालिका भित्र रहेको उर्वर भूमी, युवा जनशक्तीसँगै स्थानीय स्रोत साधनको सहि उपयोग गरि स्वरोजगार कार्यक्रमबाट विकासको लक्ष्य प्राप्ति सम्भव रहेको जनाए । ‘स्वरोजगार कार्यक्रम मार्फत वेरोजगार युवालाई स्वरोजगार बनाउन अभिमुखिकरण, व्यवसायिक तथा सीपमुलक तालिम प्रदान गरिने छ,’ उनले भने, ‘बैंक एवं वित्तीय संस्था, सहकारी संस्थासँगै प्रदेश तथा केन्द्र सरकारको सहयोगमा विना धितो सहुलियत व्याज दरमा आवधिक कर्जा उपलब्ध गराउने योजना बनाएका छौं ।’ उनले स्वरोजगार कार्यक्रमले वेरोजगार युवाको आय आर्जनमा वृद्धि हुनुका साथै जिविकोपार्जनलाई सहज बनाउने अपेक्षा राखिएको जनाए । ‘संकलन गरेको लगतमा समावेश भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा सय दिनको न्यूनतम रोजगारीको सुनिश्चित गर्ने योजना बनाइएका छौं,’ उनले भने, ‘गाउँपालिकाले स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागत साझेदारीका लागि चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ विनियोजन गरेको छ ।’ सरकार एक्लैले मात्र सबै काम गर्दा समय बढी खर्चिनु पर्ने बाध्यताको अन्त्य गर्न स्थानीय तहमा विकासका लागि शासकीय साझेदार वीच समन्वय एवं सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले गैरसरकारी क्षेत्रसँग भएको व्यवसायिक दक्षताको अधिकत प्रयोग गर्दै उनीहरुको सामाजिक उत्तरदायित्व पुरा गराउन स्थानीय सरकारले साझेदारीमा रोजगारी अभिबृद्धिका कार्यक्रम ल्याईएको बताए ।

‘सरकारी क्षेत्रको नियमन, लागत साझेदारीका माध्यमबाट स्थानीय युवालाई रोजगारीमुलक सीप सिकाई आयआर्जनको कार्यक्रममा लगाउँदा स्थानीय पूँजी, प्रविधि, स्रोतसाधनको उपयोग भई आर्थिक एवं सामाजिक विकासमा टेवा पुग्नेछ,’ उनले भने, ‘गाउँपालिकाले स्वरोजगार कार्यक्रम सञ्चालन गर्नका लागि गैरसरकारी संस्थाहरुसँग प्रस्ताव पेश गर्न १५ दिने सूचना सार्वजनिक गरेको छ । प्रस्ताव गरिएको कार्यक्रम सञ्चालन बापतको कुल खर्च मध्ये ७० प्रतिशत संस्थाले व्यहोर्नु पर्नेछ भने बाँकी ३० प्रतिशत अनुपातिक आधारमा गाउँपालिकाबाट उपलब्ध गराइने छ ।’ उनका अनुसार उक्त कार्यक्रमबाट विशेष गरि १८–४९ उमेर समूहका वेरोजगार युवालाई प्रत्यक्ष लाभान्वित हुने छन् । यता गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले स्थानीय तहमा बजारको माग अनुसार युवाको गुणस्तरीय क्षमता अभिवृद्धि गरि स्वरोजगार कार्यक्रम सञ्चालन गर्नु समयको माग भएको बताए । उनले विकासलाई गतिशीलताको बाटोमा लैजान मर्यादित रोजगारीसँगै स्वरोजगारी सिर्जनातिर लाग्नुको विकल्प नरहेको जिकिर गरे । उनका अनुसार स्थानीय तहमा गरिने विकास निर्माणमा रोजगारी खोज्ने युवालाई स्वरोजगार कार्यक्रममा पहिलो प्राथमिकता दिइने छ । ‘बैंक, बित्तीय संस्था र सहकारी संस्थाहरुको माध्यमबाट उद्यमशिलताको विकास गर्न युवाहरुमा वित्तिय चेतना फैलाई सीपमुलक तालिम प्रदान गरिनेछ,’ उनले भने, ‘युवाहरुलाई सहुलियत कर्जा प्रदान गर्ने तथा युवाहरुलाई सहुलियत कर्जा प्रदान गरी स्वरोजगार एवं व्यवसायिक बनाउने हाम्रो पहिलो लक्ष्य हो ।’ उनले स्थानीय स्रोत साधन तथा कच्चा पदार्थको अधिकतम प्रयोग हुनेगरी व्यवसायिक एवं सीपमुलक परियोजना सञ्चालन गरी स्थानीय स्तरमै युवाहरुलाई स्वरोजगार प्रदान गरिने योजना बनाएको बताए । उनका अनुसार आर्थिक रुपमा पिछडिएका विपन्न वर्ग, समुदाय, वेरोजगार युवा, महिला, दलित उत्पीडित जाति, जनजाति, आदिवासी, द्धन्दपीडित एवं अपांगता भएकालाई कृषिजन्य उत्पादन, पशुपालन, व्यवसायिक साना उद्योग तथा सेवामुलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत व्याज दरमा कर्जा उपलब्ध गराउने योजना रहेको छ ।