सुर्खेतमा प्रहरीकै २२ नक्कली परीक्षार्थी पक्राउ

स्काई न्यूज /मंसिर २८, सुर्खेत ।
सुर्खेतमा प्रहरी जवान पदका लागि लोक सेवा आयोगले लिएको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । वीरेन्द्रनगर स्थित विभिन्न परीक्षा केन्द्रमा शनिबार विहान शुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि परीक्षा केन्द्रबाट १६ जना, इगरब्रिज माविबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) बाट चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनले नक्कली परीक्षार्थी माथि अनुसन्धान शुरु गरिएको बताए । ‘प्रारम्भीक अनुसन्धानपछि मुद्धा प्रक्रिया शुरु गछौं,’ उनले भने, ‘तीमध्ये कोही पैसा लिएर वा कोही आफन्तको परीक्षा दिन आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ प्रहरी जवान पदका लागि आयोगले लिएको परीक्षामा सुर्खेत लगायत अन्य जिल्लाका परीक्षार्थी गरि करिब ३ हजार ३ सय जना परीक्षामा सहभागी रहेको प्रहरीको भनाइ छ ।

Translate »