२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?



नायिका श्वेता खड्काले बिहेको एकदिन अगाडि सामाजिक संजालमा लामो स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी छिन् । श्वेताले सोमबार बिहे गर्ने तयारी गरेकी छिन् । श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् । श्वेता लेख्छिन्–‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, व्यथा, दुःख अनी कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि सक्दिनँ ।’

श्वेताले जिन्दगीको पाइला चाल्दै गर्दा अगाडि आइपर्ने वाधाहरुलाई देख्दा आफूले त्यसलाई सामना गर्न सक्छु या सक्दिन भन्दै प्रश्न गरेको र आफूले मृत्युलाई नरोजेर जीवनलाई रोजेको पनि उल्लेख गरेकी छिन् । श्वेता लेख्छिन्–‘एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिडिरहेकी थिएँ । मेरो यो एकल यात्राका वखतमा धेरै पटक लडेकी छु । अब उठ्न नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आश हुँदो रहेछ । मनभित्र ठाँगो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिनु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिड्नु भन्दा पनि कठिन रहेछ । तर, मैले मेरा बहहरु व्यक्त गर्ने कोसँग ?’

श्वेताले आफूलाई आफन्त, साथीभाइहरुले पनि जीवनसाथी खोज्नका लागि बारम्बार सुझाव दिने गरेको उल्लेख गरेकी छिन् । उनले अगाडि लेखेकी छिन्–‘तर, एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाइन्छ र ? फुटेको चुरासँग चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? लौ भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनी के यो पुरुष प्रधान समाजेले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थेँ ।’तर, आज आफूले जीवनमा सहयात्री पाएको श्वेताले उल्लेख गरेकी छिन् । उनले, आफ्नो विगतको पीडालाई भुलाउने एउटा बहाना पाएको पनि लेखेकी छिन् । तर, यसो भन्दै आफूले आफ्नो अतितलाई भने नविर्सने उनको तर्क छ । तर, श्वेताले नयाँ जीवन सुरु गर्दै गर्दा आफ्नो मनमा अझै एउटा प्रश्न उब्जिएको भन्दै लेखेकी छिन्–‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला त ?’

श्वेताले आफ्नो आँखामा आँशु मात्र देख्न चाहने केही मानिसहरुलाई यो निर्णयले पोल्ने पनि उल्लेख गरेकी छिन् । तर, श्रीमती स्वर्गी भएको १ महिना नवित्दै दुलही भित्राउन हतारिने तर घरको विधुवा बहिनीले पुरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त भएकाहरुलाई आफ्नो निर्णयले घोच्ने उनको तर्क छ । श्वेताले कोरोना भाइरसका कारण आफूले आफ्ना नजिकका मानिसहरुलाई पनि निमन्त्रणा गर्न नसकेको भन्दै सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् । नयिका श्वेता खड्काले सोमबार विजयेन्द्र सिंह राउतसँग बिबाह गर्दैछिन् ।(अनलाइनखबर)

प्रकाशित मिति : २०७७ मंसिर २२ गते सोमबार
Translate »