भाँसिएको पुलबाटै जोखिम मोलेर ओहोर–दोहोर

गमगढी । मुगुको छायाँनाथ रारा नगरपालिका–१, हुलुम खोलाको झोलुङ्गे पुल जोखिममा परेको छ । गत असोज महिनामा परेको अविरल वर्षाको कारणले पुल मुनिको पर्खाल पहिरोले भत्किए पछि जोखिममा परेको हो ।

पुल जोखिममा परेपनि श्रीनगरका स्थानीय जिल्ला सदरमुकाम गमगढी बजार लगायत बनपाखा जाँदा जोखिम मोलेर त्यही पुल बाट आवत जावत गर्ने गरेको वडा अध्यक्ष पदमराज मल्लले बताए । उनले भाँसिएको पुल बाट वडा बासी लगायत कसैले पनि यात्रा नगर्न छायाँनाथ रारा नगरपालिकाको आदेश अनुसार वडाले निर्णय गरी बार लगाई पुल बन्द गरिसकेको भएपनि पुलमा लगाइएको बार हटाई निर्णयको कुनै वास्ता नगरी जोखिम मोलेर स्थानीयले यात्रा गर्ने गरेको जनाए । जोखिममा परेको पुल बाट यात्रा गर्दा जतिबेला पनि दुर्घटनामा पर्न सक्ने खतरा छ ।

यस पुलको समयमा नै कुनै पनि निकाय बाट मर्मतसम्हार नभए पछि दिन प्रतिदिन पुल झर्दै गएको छायाँनाथरारा नगरपालिका–१, का सब–इन्जिनियर विष्णुभक्त हितानले बताए । आर्थिक बर्ष २०७४/०७५ मा निर्माण गरिएको ९२ मिटर लामो र करिब ८० मिटर उचाइको उक्त हुलुम खोला पुल डोलिडार को रू ६९ लाख को आर्थिक र साविक जिल्ला विकास समितिको प्राविधिक सहयोगमा निर्माण भएको थियो ।

श्रीनगर, भामवाडा लगायत घट्टलेख, तलिलेख, लुवारपोल्ना, गाँडापानी, चराप, झाकोट, लगायतका बस्तीका मानिसहरू त्यही पुल भएर सदरमुकाम ओहोरदोहोर गर्न सहज हुँदै आएको थियो । पुल भाँसिएको खबरले टाढाका बस्तीका मानिसहरू वैकल्पिक बाटो चैन खोला र अल्का साँघुबाट गमगढी आवत जावत गर्ने गरेका छन् भने केही स्थानीयहरू छोटो दुरी हुनाले जोखिम मोलेर त्यही भाँसिएको पुल बाट यात्रा गर्दै आएका छन् ।

भाँसिएको पुल बाट यात्रा गर्दा कतिखेर के हुने हो ? त्यसको कुनै टुङ्गो  छैन । पर्खाल भत्किएर जोखिममा परेको पुलको केही दिन मै मर्मतसम्हारको काम सुरु हुने छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । बजेट अभावले पुल मर्मतको काममा केही ढिलाइ भएको भएपनि मर्मत कार्यको लागि नगरपालिकामा निर्णयसमेत भैइसकेको उनको भनाइ छ ।

Translate »