समृद्ध नेपाल निर्माणको लागि एमालेको संकल्प यात्रा, कुलो हैन महाकाली नदी नेपालको सिमाना : अध्यक्ष ओली


बैतडी । नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीले नेपालको पश्चिम सिमाना कसैले बनाएको कुलो नभई महाकाली नदि भएको बताएका छन् । नेकपा स्थापनाको ७५ वर्ष पुगेको हिरक जयन्तीको अवसरमा एमालेले बुधवार देखि सुरु गर्न लागेको बैतडी झुलाघाट देखि पाँचथरको चिवा भञ्याङसम्मको सङ्कल्प यात्राको पूर्व संध्यामा मंगलबार बैतडीको पाटनमा आयोजना गरियको स्वागत कार्यक्रमा धन्यवाद दिंदै अध्यक्ष ओलीले पुष्पलाल लोकमार्गमा हुने यो संकल्प यात्राले देश समृद्ध हुन्छ भन्ने विश्वास दिलाउने बताए ।

यो यात्राले समृद्ध नेपालका थप संभावनाको खोजी गरी त्यसलाई एमालेले साकार पार्ने विश्वास अध्यक्ष ओलीले दिलाए । अहिले देशको हरेक क्षेत्रको अवस्था वर्तमान सरकारले नाजुक बनाएको जसका कारण देश विकासमा नेपाल पछि परेको अध्यक्ष ओलीको धारणा थियो ।
स्वागत कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश र समाजको हितमा कार्य गरेका २५७ जनालाई अध्यक्ष ओलीले सम्मान गरेका थिए । नेकपा (एमाले) ले बुधवार नेपाल–भारतको पश्चिमी सीमा बैतडीको झुलाघाट स्थित महाकाली नदीदेखि समृद्धिका लागि संकल्प यात्रा सुरु गर्दै छ । यो यात्राको नेत्तृत्व एमाले अध्यक्षओली आफैले गरेका छन् । यात्रा बैतडीको झुलाघाटदेखि पुष्पलाल मध्यपाहाडी पुर्व पश्चिम लोकमार्गमा हुनेछ । तिन साता लामो यात्रा पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन हुनेछ ।

