चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

काठमाडौं । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन् । चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन ।

बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।

चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ । संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ ।

चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श्वासप्रश्वाससम्बन्धी रोग फैलिएपछि भारत सरकारले पनि सूचना जारी गर्दै आफ्ना स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन र नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ । नेपाल सरकारले भने यसबारे अहिलेसम्म आधिकारिक सूचना जारी गरेको छैन ।

यसअघि चीनमा फैलिएको कोभिड १९ बाट नेपाल पनि नराम्ररी प्रभावित भएको थियो । अहिले चीनमा फैलिएको पहिचान नभएको रोगको जोखिममा नेपाल पनि रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले बताए । ‘कोभिडको असर नेपालमा पर्‍यो, अहिले चीनमा फैलिएको रोगको असर पनि नपर्ला भन्न सकिँदैन,’ उनले भने । उनका अनुसार हाल बेइजिङसहित आसपास क्षेत्रमा फैलिएको उक्त रोग थप फैलिने क्रममा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपद् व्यवस्थापन एकाइका डा. समीरकुमार अधिकारीले चीन छिमेकी राष्ट्र हुनु र दुई देशबीच आवतजावत भइरहने भएकाले नेपाल पनि उक्त रोगको जोखिममा रहेको बताए । ‘विश्व आवतजावतको हिसाबले सानो भइसक्यो। एक ठाउँमा देखिएको सरुवा रोग विश्वभरि सजिलै फैलिन्छ,’ उनले भने । छिमेकी मुलुकमा फैलिने रोगबाट नेपाल अछुतो रहन सक्दैन भन्ने कोभिडबाट पुष्टि भइसकेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । चीनमा अहिले फैलिएको रोगको प्रकृति, असर, कारणबारे विस्तृत विवरण नआएसम्म त्यसको असर कहाँसम्म पर्छ भन्नेबारे भन्न नसकिने अधिकारीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचारात्मक महााशाखा प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोलाले चीनमा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको विस्तृत विवरण नआएसम्म जोखिमबारेमा यकिन रूपमा भन्न नसकिने बताए । उनले भने, ‘रोगको खास कारण के हो भन्नेबारे विस्तृत विवरण आउनुपर्छ, त्यसपछि मात्र नेपालमा कति जोखिम छ भन्न सकिन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले सरकारले अहिले चीनमा देखापरेको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका विषयमा यकिन नगरिसकेको बताए। ‘कति जोखिम छ भनेर भनिहाल्ने अवस्था छैन,’ उनले भने। उनका अनुसार महाशाखाले अहिलेसम्म कुनै पूर्वसचेतनाका लागि सूचना पनि जारी नगरेको जनाए । नागरिक न्यूज

Translate »