पश्चिम सुर्खेतका सडकमा गुड्ने सवारी साधनलाई अस्थायी रुट परमिट जारी गरिँदै

 सुर्खेत ।  यातायात व्यवस्थापन समितिले पश्चिम सुर्खेतका सडकहरुमा गुड्ने सवारी साधनलाई अस्थायी रुट परमिट जारी गर्ने तयारी गरेको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटाको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको सुर्खेत स्थित यातायात व्यवस्थापन समितिको बैठकले पश्चिम सुर्खेतका मापदण्ड पुगेका सडकहरुमा गुड्ने सवारी साधनलाई अस्थायी रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

बैठकले प्राविधिकसहितको अनुगमन टोलीको प्रतिवेदनका आधारमा नयाँ भाडादरसहित पहिलो चरणमा अस्थायी रुट परमिट जारी गर्ने निर्णय भएको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख मदनकुमार गिरीले जानकारी दिए ।

उनले अबको सात दिन भित्रै बाबियाचौरदेखि कुइने, जामु–राग–विद्यापुर, कल्याणकाँध–झक्तडी, चौर–लाम्काने–व्यूरेनी, पलाईटे–चिउरीखेत–सुवाछेडा, गुटु–लगाम र घाटगाउँ–गुटु–साल्म सडकहरुको मापदण्ड पुगे/नपुगेको अनुगमन गरी अस्थायी रुट परमिट जारी गरिने बताए । ‘प्राविधिक टोलीबाट सडकहरुको अनुगमन गरी रिपोर्ट आउने वित्तिकै सवारी साधनलाई अस्थायी रुट परमिट जारी गरिनेछ,’ उनले भने, ‘अस्थायी रुट परमिट जारी भएपछि नयाँ भाडा दर समेत कायम गरिने छ ।’

अहिले रुट परमिट नपाएका पश्चिम सुर्खेतका सडकमा गुड्ने सवारी साधनले यात्रुबाट मनपरी चर्को भाडा असुल्दै आएका छन् । अहिलेपनि रुट परमिट नपाउँदा त्यसक्षेत्रका यातायात व्यवसायीले जोखिम मोलेर सवारी साधन गुडाउँदै आएपछि महँगो भाडा लिने गरेका हुन् ।

पश्चिम सुर्खेतका सडकमा गुड्ने सवारी साधनलाई रुट परमिट जारी गर्नुपर्ने आवाज उठाउँदै आएका सामाजिक अभियन्ता तिलकराम अधिकारीले जनताको मागलाई सम्बोधन हुने गरी स्थानीय प्रशासनले गरेको निर्णय स्वागतयोग्य कदम भएको बताए ।

उनले रुट परमिट इजाजत पाएपछि पश्चिम सुर्खेतका सडकमा गुड्ने सवारी साधनलाई कानूनी सहजतासँगै यात्रुलाई समेत सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

Translate »