कर्णालीका साढे नौ हजारमा दृष्टि सम्बन्धि अपाङ्गगता


सुर्खेत । कर्णाली प्रदेशका साढे नौ हजार बढीमा दृष्टि सम्बन्धि अपाङ्गगता भएको पाईएको छ ।
नेपाल नेत्रहिन संघ कर्णाली प्रदेशले विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अपाङ्गगता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा दृष्टि सम्बन्धि अपाङ्गगता भएका व्यक्तिहरुको सवाल र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेशभरी ९ हजार ७ सय ३९ जनामा दृष्टि सम्बन्धि अपाङ्गगता भएको पाईएको जानकारी दिईएको हो ।
नेपाल नेत्रहिन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले सञ्चारमाध्यमको विकाससँगै अपाङ्गगता भएका व्यक्तिहरुको हक, हित र अधिकार बारे चेतनाको स्तर बढेपछि अपाङ्गगता भएका व्यक्तिहरुको संख्या समेत बढेको बताए ।
उनले संविधानले नै कानूनीरुपमा अधिकार सुनिश्चित गरिएपछि असंगठित र दूरदराजमा रहेका अपाङ्गगता भएका व्यक्तिहरु संगठित हुन लागेको जानकारी दिए ।

उनका अनुसार ती मध्ये न्यून दृष्टियुक्त भएका व्यक्तिको संख्या ७ हजार ४ सय ७१ रहेको पाईएको छ । ती मध्ये ३ हजार ६ सय ४९ पुरुष र ३ हजार ८ सय २२ महिला रहेका छन् ।
यस्तै पूर्ण दृष्टि सम्बन्धि अपाङ्गगगता भएका २ हजार २ सय ६८ मध्ये १ हजार १ सय ३२ पुरुष र १ हजार १ सय ३६ महिला रहेका छन् ।
अहिलेपनि अपाङ्गगगता भएका व्यक्तिलाई शिक्षामा सीमित पहुँच, विद्यालय पहुँचयुक्त नहुनु, शैक्षिक सामाग्री नहुनु, रोजगारीबाट बञ्चित हुनु, पहुँचयुक्त संरचना नहुनु जस्ता समस्याहरु रहेका कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
कार्यक्रमका सहभागिहरुले अपाङ्गगगता भएका व्यक्तिको समस्या र हक, हित र अधिकारलाई प्राथमिकता दिन समेत आग्रह गरेका छन ।


