पश्चिम सुर्खेतका ग्रामीण क्षेत्रमा रक्तदानको महत्व बुझाउँदै स्वयंसेवी रक्तदाता समाज


सुर्खेत । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । देशमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् ।
बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको हो । शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै पर्याप्त जानकारी नहुँदा रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटेको छैन् । रक्तदान जीवनदान हो ।
मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन ।
हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं भन्ने संदेश दिन पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोट स्थित शिवशक्ति धाममा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

पश्चिम सुर्खेतका ग्रामीण क्षेत्रहरुमा रक्तदान कार्यक्रमलाई व्यापक बनाउन अहिले सचेतना फैलाउनुका साथै स्वयसेवी रक्तदाता अभियान सञ्चालन गरिएको छ । लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तथा समाजिक अभियन्ता तिलकराम अधिकारीको अगुवाई एवं नेपाल स्वयसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको आथित्यततामा भएको रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन भएको आयोजकले स्काई न्यूजलाई जानकारी दिएका छन् ।
कार्यक्रममा रक्तदाता समाजका केन्द्रिय अध्यक्ष कर्माचार्यले स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुने जानकारी दिए । ‘गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन,’ उनले भने, ‘ पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो ।’

उनले रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको जनाए । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत पुग्ने गरेको उनको अनुभव छ ।
लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारी, निबर्तमान नगरप्रमुख उपेन्द्रबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका उपसभापति प्रदिप्त पौडेल, पञ्चपुरी नगरपालिका वडाध्यक्षहरु यामबहादुर बिसी, बलबहादुर रोकाय, रामप्रसाद अधिकारी, नगेन्द्रबहादुर शाही, नेपाल रक्तदाता समाजका केन्द्रिय सदस्यहरु प्रवासकुमार शाक्य, प्रेमप्रसाद लम्साललगायतले रक्तदान सम्बन्धि प्रशिक्षणमुलक मन्तव्य राखेका थिए ।

स्वयंसेवी रक्तदाता समाज गठन
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज गठन गरिएको छ । शुक्रबार शिवशक्ति धाममा भएको भेलाले स्थानीय समाजसेवी डिल्लीराम घिमिरेको अध्यक्षतामा ११ सदस्यीय पञ्चपुरी नगरस्तरीय स्वयंसेवी रक्तदाता समाज गठन गरिएको हो ।
समाजको उपाध्यक्ष बलबहादुर बोहरा, सचिवमा गोपाल बुढा, कोषाध्यक्ष थानीप्रसाद घिमिरे तथा सदस्यहरुमा बिरेन्द्रकुमार जोशी, सूर्य उपाध्याय, रेमन्त बिसी, हेमन्त रावत, लक्ष्मी विसी, रमेशकुमार थापा एवं चेतन नेपाली रहेका छन् ।
अब आउँदा दिनहरुमा पश्चिम सुर्खेतका ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धि सचेतनासँगै रक्तदान कार्यक्रमहरु नबगठित समितिले नै गर्ने सहमति भएको लायन्स क्लब अफ सुर्खेत बुलबुलेका सचिव भद्रबहादुर थापाले जानकारी दिए ।


