नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं । यु-१९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। दुबईको आइसीसी एकेडेमीमा शुक्रबार भएको पहिलो खेलमा नेपाल पराजित भएको हो ।
नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानका लागि अजान आविसले अविजित ५६ रन बनाए। त्यस्तै कप्तान साद बाग ५० रन बनाएर पेभेलियन फर्किएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनाएको थियो ।
नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। ७६ बल खेलेका उनले ३ चौका र एक छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । त्यस्तै दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
युवा टोलीका कप्तान देव खनाल शून्य रनमै आउट भए भने राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गर्दै आएका गुल्शन झा १ रनमै पेभेलियन फर्किएका थिए । नेपाललाई सस्तैमा आउट गर्न पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ६ विकेट लिए। ९.२ ओभर बलिङ गरेका उनले १९ रनमात्र खर्चेका थिए ।