एमालेको पालामा बनेका सडकहरु भत्किन थाले, कसैले मर्मत गरेको छैन : ओली

गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा दर्बिलो बन्दा आफ्नो नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको क्रममा शुक्रबार साँझ गोरखाको पालुङटार आइपुगेका अध्यक्ष ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै वामपन्थी खोल ओढेकालाई नै प्रयोग गरेर सरकार ढलाइएको दाबी गरे ।
‘५८ वर्षदेखि हाम्रो लिपुलेक, लिम्पियाधुरा भारतले नियन्त्रणमा लिएको थियो, कब्जा गरेको थियो । त्यस विषयमा कसैले चर्चा गरेको थिएन । त्यसलाई नेकपा एमालेले गम्भीर चर्चाको विषय बनायो । नयाँ नक्शा बनायो । नक्शा पास गर्यो र त्यसलाई अनुमोदन गर्न भारतलाई पत्राचार गर्यो । हाम्रो जमिन कब्जा गरिरहनुभएको रहेछ, फिर्ता गर्नुस् भन्यो । एमाले त्यसकारण सरकारबाट ढल्यो । एमालेलाई ध्वस्त पार्न खोजियो,’ उनले भने ।
वामपन्थी आन्दोलन भनेर दुई तिहाइको सरकार बनाएको तर वामपन्थीकै खोल ओढ्नेहरू एमाले ध्वस्त पार्ने अभियानमा लागेको उनको आरोप छ । ‘वामपन्थीको नेतृत्वमा दुई तिहाइको सरकार थियो । सात प्रदेश मध्ये छ वटामा वामपन्थी नेतृत्वमा सरकार थियो । त्यसलाई ध्वस्त पार्ने अरु कोही होइनन्, वामपन्थीको खोल ओढ्नेहरू नै हुन्,’ उनले भने, ‘अहिले के बुझ्न जरुरी छ भने, सबै मिलेर एमालेलाई समाप्त पार्न खोज्दा पनि अहिले सबैभन्दा लोकप्रिय पार्टी एमाले नै हो । यति पर्याप्त छैन । नेकपा एमाले मुलुकलाई समृद्ध बनाउन चाहन्छ ।’

एमाले सरकार बाहिर भएको अढाई वर्षमै नेपाल नराम्ररी ओरालो लागेको उनले बताए । उनले भने, ‘एमाले सरकारबाट बाहिरिएपछि गएको अढाई वर्षमा नेपाल नराम्ररी ओरालो लाग्यो । राजनीति बिग्रियो । अस्थिरता, अन्योल, अविश्वास, असन्तुष्टि, अराजकता र विभिन्न प्रकारका फाटोवादी, अस्थिरतावादी, प्रतिक्रियावादी सल्बलाए ।’
उनले राजनीतिसँगै देशको अर्थतन्त्र ओरालो लागेको र विकास निर्माण ठप्प भएको बताए । ‘बाटाहरु भत्किएका छन्, धेरै ठाउँमा देखें । एमालेको पालामा बनेका सडकहरु भत्किन थालेका छन् । कसैले मर्मत गरेको छैन,’ उनले भने, ‘बनाउँदै गरेका बाटाहरु रोकिएका छन् । जनताले असुविधा भोगेका छन्, दुःख भोगेका छन् ।’ उनले कृषि, व्यापार र पर्यटनमा प्रतिकूल असर पारेको बताए ।
उनले अहिलेको गठबन्धनले देश नबनाउने बताए । ‘एमालेबाहेक जतिवटा पार्टी मिले पनि देश बनाउने काम गर्दैन । यो गठबन्धन विकास निर्माण र जताको पक्षमा छैन,’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीका लागि एमालेको एकल बहुमतको आवश्यक छ । त्यसका लागि मिसन ८४ सुरु गरेका छौं ।’
उनले अरु सरकारले एक वर्षमा गर्न नसकेको काम एमालेले दुई दिनमा गर्ने दाबी गरे । उनले आफ्नो पालामा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याएको बताए । ‘एमाले सरकार बन्नुअघि वर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो । एमालेले एकैदिनमा साढे ५ किलोमिटरभन्दा बढी कालोपत्र गर्यो । अहिले त विकास निर्माण ठप्प छ,’ उनले भने ।