सुर्खेतको ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थी आन्दोलित


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् ।
चितवनको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्बन्धन प्राप्त ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसमा अध्ययनरत छैठौं सेमेस्टरका विद्यार्थीले नियमित पठनपाठनसँगै चौथो सेमेस्टरको परीक्षा फल सार्वजनिक गर्न माग राख्दै आज क्याम्पस अगाडि धर्ना दिईरहेका हुन् ।

निजी कलेजका सञ्चालकहरुले विद्यार्थीबाट महँगो शुल्क लिएरपनि नियमित पठनपाठनको व्यवस्था नगरिदिँदा भविष्य नै अन्यौलमा परेको भन्दै बाध्य भएर आन्दोलनमा उर्तिनु परेको छैठौं सेमेस्टरका विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले ‘नियमित पठनपाठन सञ्चालन गर, विद्यार्थीको भविष्य माथि खेल्न पाईदैन्, हाम्रो परीक्षा फल खोइ ? ब्राईट नाम राखेर विद्यार्थीको भविष्य डार्क बनाउन पाईदैन, शैक्षिक माफिया मुर्दावाद, हाम्रा माग पुरा गर’ जस्ता नारा लगाएका छन् ।
शनिबारदेखि चरणबद्ध आन्दोलनमा उर्तिएका विद्यार्थीहरुले नियमित पठनपाठन र चौथो सेमेस्टरको परीक्षा फल सार्वजनिक नहुँन्जेल विरोधका कार्यक्रम जारी राखिने विद्यार्थी अगुवा कमलदेव यादवले बताए ।

उनले शैक्षिक सामाग्रीको व्यवस्था, शिक्षकको व्यवस्था, कृषि ल्याब, प्राक्ट्रिकल स्थलको अभाव भएकोले क्याम्पसले यसको तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखिएको जनाए ।

विद्यार्थीहरुले भोग्नु परेका समस्याहरु समाधानप्रति क्याम्पस प्रमुख राम भण्डारी सकारात्मक देखिएपनि चौथो सेमेस्टरको परीक्षा सार्वजनिक गर्दै नियमित पठनपाठन गराउन तर्फ क्याम्पस सञ्चालकहरु गैरजिम्मेवार बन्दै गईरहेको छात्रा बसन्ता थापाले बताईन् ।

उनले एक महिनामा पढाई हुने विषयवस्तु एकै दिनमा पढाउने गरेको, शिक्षकहरुको अभाव भएको र कृषिका विद्यार्थीका लागि प्रयोगात्मक शिक्षाका लागि प्रयोगशालाको व्यवस्थापन नभएकोले तत्काल व्यवस्थापन गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिनु परेको दुःखेसो पोखिन् ।
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषि सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले निजीक्षेत्रका व्यवसायीले सञ्चालन गरेको कृषि क्याम्पसमा शैक्षिक जनशक्तिसँगै पाठ्यक्रममा आधारित पूर्वाधार तयार गर्न नसक्दा समस्या उत्पन्न भएको हो ।

क्याम्पस प्रमुख राम भण्डारीले विद्यार्थीका तत्कालको समस्या समाधानका लागि क्याम्पस सञ्चालकहरुसँग छलफल तथा समन्वय भईरहेको बताए । उनले आर्थिक अभावका कारण कम्यापसले विश्वविद्यालयलाई तिर्नुपर्ने १५ लाख रुपैयाँ बुझाउन नसक्दा विद्यार्थीको चौथो सेमेस्टरको परीक्षा फल रोकिएको जनाए ।
तिर्नुपर्ने रकमको जोहो गर्न अहिले क्याम्पस सञ्चालकहरु जुटिरहेकाले केही दिनमै गेस्ट शिक्षक ल्याएर नियमित पठनपाठनसँगै परीक्षा फलपनि आउने उनको भनाइ छ ।
क्याम्पसमा कृषि पढाउने शिक्षक नहुँदा क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुले हाल कक्षा छोड्न समेत थालेका छन् । नयाँ भर्ना भएका विद्यार्थीहरु समेत क्याम्पसको खस्किँदो शैक्षिक स्तर देखेर अन्यौलमा परेको बताउँछन् ।


