विना खनजोत पिपरामा गहुँ खेतीको शुरुआत


जनकपुरधाम । गहुँ खेतीका लागि कृषि मजदूर तथा पानीको अभाव भएको बेला महोत्तरी जिल्लाको पिपरामा विना खनजोत गहुँ खेती सुरु गरिएको छ ।
कृषि अनुसन्धान परिषद् बेला चापी र कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जको आयोजनामा उक्त अभियानको शुरुआत पिपरा गाउँपालिका–नंं ३ का वडाध्यक्ष किशोरी अधिकारीले गरे । आम किसानहरूलाई यस प्रविधिका बारेमा जानकारी हासिल गराउने उद्देश्यले खुल्ला २ बिघामा खेतीको शुरुआत गरिएको हो ।


सिँचाइको अभाव रहेको र अत्यधिक मात्रामा युवाहरू वैदेशिक रोजगारीमा गएका कारण कम लागतमा अधिक उत्पादन लिन उक्त खेतीको शुरुआत गरिएको कृषि अनुसन्धान परिषद् वेलाचापीका प्रमुख राम दास चौधरीले बताए । उलने यस प्रविधिमा खेतको जोताई मेसिनले ११ लाइनमा गर्नुका साथै मेसिनले नै मात्रा अनुसारको बीउ तथा मल छर्ने गरेको जनाए ।
मेसिनले नै बीउ तथा रासायनिक मल खेतमा हाल्ने भएकाले थोरै समयमा धेरै खेतमा गहुँ लगाउन मिल्ने कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जका प्रमुख कृषि वैज्ञानिक सच्चिनकुमार मिश्रले बताए । उनले यस प्रविधिले खेती गर्दा ३० देखि ५० प्रतिशतले पानी कम लाग्नुका साथै प्रति कट्ठा २ देखि तीन मन उहुँ उत्पादन हुने जनाए ।
परम्परागत शैलीमा गहुँ खेती गर्दा लागत बढ्नुका साथै प्रति कट्ठा १ देखि डेढ मन मात्र उत्पादन हुने गरेको वडाध्यक्ष अधिकारीले जानकारी दिए ।


