सिम्ताको ठाँटी मेला सकियो

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा आयोजित ठाँटीमा मेला आज विभिन्न कार्यक्रमसहित सकिएको छ । कला, खेलकुद, संस्कृतिको जगेर्नासँगै सभ्य र समृद्ध सिम्ताका लागिका चार दिनसम्म सञ्चालित ठाँटी मेला भव्य समारोहका वीच सकिएको हो ।

बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम भने तीन दिनसम्म सञ्चालन भएको थियो । मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि आयोजक जनसन्देश युवा क्लवले हात पारेको छ ।

जाजरकोटको शिवालय गाउँपालिकाले उपविजेता बनेको आयोजकले जानकारी दिएका छन् । विजेता टीमले ट्रफिसहित ५० हजार र उपविजेताले ट्रफिसहित ३० हजार नगद हात पारेका हुन् । यस्तै व्याटमिण्टन प्रतियोगितामा ईलाका प्रहरी कार्यालय सल्ली बजारको टिमलाई उपविजेतामा सिमित गर्दै गुर्भाकोट नगरपालिकाको टिम विजेता बनेको हो ।

डोरीतान प्रतियोगिता तर्फ राम्री टोल विकास संस्था सिम्ता १ को टिम विजेता बनेको छ भने जनसन्देश युवा क्लवले उपविजेतामा चित्त बुझाएको छ ।  मेलामा प्रदर्शन गरिएका गर्रा, पञ्चेबाजा, सिँगारुलाई पनि प्रोत्सहान गरिएको आयोजक जन सन्देश युवा क्लवका अध्यक्ष गगन सिंहले जानकारी र्दिए ।

उनका अनुसार पौराणिक रुपमा लाग्दै आएको मेलालाई व्यावसायिक हिसाबले जोड्दै पर्यटन प्रबद्र्धनका लागि विभिन्न प्रतियोगिताको आयोजना गरिएको थियो । मेलाको समापन कार्यक्रममा बोल्दै सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले युवाहरुलाई खेलकुद मार्फत रचनात्मक कार्यमा जोड्दै पर्यटन प्रवद्र्धनका लागि मेलाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले मौलिक सांस्कृतिको संरक्षण, खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि पौराणिक मेलाको महत्वपूर्ण भूमिका हुने भएकाले संरक्षणका लागि गाउँपालिकाले उचित ध्यान दिने जनाए । सिम्ता गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्र सिंह, मेला व्यवस्थापन समितिका आर्थिक संयोजक तेजविक्रम सिंह लगायतले आगामी दिनमा मेलाको थप प्रचार प्रसारसँगै व्यापक बनाईने जानकारी दिए ।

Translate »