प्रधानमन्त्री दाहाल ६९ वर्ष पूरा भई ७० मा टेके

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ६९ वर्ष पूरा भई ७० मा टेकेका छन्। प्रधानमन्त्री दाहाल मंगलबार आफ्नो ६९औं जन्मोत्सव मनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालको विसं २०११ मंसिर २६ गते कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस वडा(२ लेवाडेमा जन्म भएको हो । पिता मुक्तिराम र आमा भवानीका जेठो छोराको रूपमा दाहालले जन्म लिएका हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका थिए ।

वि.सं. २०२६ मा चितवनको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय शिवनगरबाट एसएलसी उत्तीर्ण गरेका उनले २०२७–२०२९ सम्म पाटन बहुमुखी क्याम्पसबाट आईएससी गरेका थिए । उनले विसं २०३१(२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी पूरा गरी एमपीएसम्मको अध्ययन गरेका थिए । कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी उनले पुष्पकमल दाहाल नामाकरण गरेका थिए । प्रधानमन्त्री दाहालले वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम चिनिने गर्थे ।

विसं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट राजनीतिक जीवन प्रारम्भ गरेका उनले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौंथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई उनी २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०४१ मा नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी २०४२ मा पोलिटब्यूरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री बनेका थिए । २०५१ सालमा तत्कालीन नेकपा(एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो बिस्तारित बैठकपछि पार्टीको नाम परिवर्तन गरी नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका उनले विसं २०५२ सालदेखि सुरू भएको जनयुद्धको नेतृत्व गरेका थिए । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी नेकपा (माओवादी) को अध्यक्ष बनेका थिए ।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका थिए । त्यसपछि उनी २०६५ मा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसपछि उनी दोस्रो संविधान सभाताका २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका उनी पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनले पुस २६ गते प्रतिनिधिसभाबाट २६८ मत प्राप्त गरी नेपालकै इतिहासमा अभूतपूर्व कीर्तिमानी कायम गरेका थिए । अन्नपूर्ण पोष्ट

Translate »