रोजगारीका लागि भारत हिँडेका सल्यानका एक व्यक्ति बाँकेमा मृत भेटिए


नेपालगन्ज । बाँकेमा सल्यानका एक जना व्यक्ति मृत भेटिएका छन् । रोजगारीका लागि भारत जान भनी हिँडेका बनगाड कुपिण्डे नगरपालिका–३ का ६२ वर्षीय तेजबहादुर कामी आज नेपालगन्जमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चार दिन अघि रोजगारीको शिलशिलामा भारत जान भनी घरबाट साथीहरूसँग निस्किनुभएका कामी नेपालगन्ज–१ पुष्पलाल चोकस्थित प्रहरी गुल्मसँगै रहेको तलाउमा मृत अवस्थामा भेटिएका थिए ।
गाउँबाट कामका लागि सँगसँगै भारत जान निस्केका अन्य साथीहरू भारत पुगिसक्दा समेत तेजबहादुर सम्पर्कमा नआएपछि परिवारले उनी हराएको निवेदन प्रहरीका दिएका थिए । कामीको शव पोष्टमार्टमका लागि भेरी अस्पताल लगिएको बाँके प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

