स्काउटरद्वारा बुलबुले तालको सरसफाई

सुर्खेत ।  नेपाल स्काउटका प्रशिक्षार्थी स्काउटरहरुले सुर्खेत चर्चित बुलबुले तालको सफाई गरेका छन । सुर्खेतको वीरेन्द्रनगरमा जारी नेपाल स्काउटको ६ दिने विपद् व्यवस्थापन सचेतना तथा सुरक्षा सम्बन्धित तालिमको आज चौथो दिन स्काउटरहरुले बाढीजन्य विपद्बाट बच्ने र बचाउने उपायका बारेमा व्यवहारिक अभ्यास अन्तर्गत बुलबुले तालको सफाई गरेका हुन् ।

झारपातले झाँगिंएर कुरुप बनेको बुलबुल तालको सरसफाईका लागि वीरेन्द्रनगर नगरपालिकाले स्काउटरहरुलाई आश्वयक औजार सामाग्रीसँगै दुई वटा प्लाष्टिक डुङ्गाहरु समेत उपलब्ध गरेको थियो । स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहराका अनुसार तालिममा कर्णालीसँगै लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका ७० जना स्टकाउटरहरुले बुलबुले ताल भित्रको झार उखाल्नुका साथै ताल छेउछाउमा सरसफाई गरेका हुन् ।

उनले सशस्त्र प्रहरी बल नेपाल महेश्वरी बाहिनी र वीरेन्द्रनगर नगरपालिकाको सहयोग तथा समन्वयमा बुलबुले तालको सफाई गरिएको जानकारी दिए । उनका अनुसार स्काउट्टरहरुले विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यास अन्तर्गत बाढि, पहिरो, आगजनी तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट बच्ने र बचाउने उपायका बारेमा प्रशिक्षण दिईएको छ ।

नेपाल स्काउटका प्रशिक्षक पवन कोइराला नेतृत्वको ८ जना प्रशिक्षकसँगै नेपाल सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले चार प्रदेशका २८ महिलासहित ४२ जना पुरुष स्टाउटरहरुलाई डिजास्टर मेन्जमेन्ट एवारनेस एण्ड सेफ्टीसँग सम्बन्धित प्रशिक्षण दिईरहेका छन् ।

प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थामा नेपाल स्काउटले कर्णाली प्रदेश लक्षित कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट कर्णाली उच्च जोखिममा रहेकाले सचेतनासँगै प्रशिक्षित स्वयंसेवीहरु तयार गर्नु नेपाल स्काउटको मुख्य उद्देश्य रहेको प्रशिक्षक पवन कोइरालाले बताए ।

 

Translate »