पूर्व गृहमन्त्री खाँण थुनामुक्त


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । उच्च अदालत पाटनको आदेश अनुसार खाँणाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाएका थिए । त्यसपछि उनलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको थियो ।
सम्पत्ति शुद्धिकरण विभागमा पनि १५ लाख धरौटी बुझाएका खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै पूर्व गृहमन्त्री खाँण ७ महिनापछि थुनामुक्त भएका हुन् । थुनामुक्त भएसँगै नेता खाँण अहिले निजी निवास काठमाडौंं चावहिलमा पुगेको नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका नेता दीपेन्द्र पोखरेलले जानकारी दिए । खाँण थुनामुक्त भएसँगै उनलाई भेटन नेता कार्यकर्ताहरु निजी निवास चावहिल पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको काठमाडौंको आदेश अनुसार पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई उच्च अदालत पाटनले विहीबार ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

खाँणलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने विषयमा गत १५ पुसमा उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको राय बाझिएको थियो । पाण्डेले धरौटीमा छाड्न हुने र खरेलले छाड्न नसकिने राय दिएका थिए ।
त्यसपछि मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको तेश्रो एकल इजलासमा पुगेको हो । कोइरालाको इजलासले बिहीबार खाँणलाई धरौटीमा छाड्ने राय दिएसँग खाँणले आज जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

