निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग

सुर्खेत । नेपाल स्वयंसेवी रक्तदाता समाज पञ्पपुरीले सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन माग गरेको छ । समाजले पञ्चपुरी नगरपालिकाका विरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन नगरपालिकासँग माग गरेको हो ।

‘प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडित (बिरामी) हरूको नैसर्गिक अधिकार हो’ भन्ने मूल्य मान्यता राख्दै आईरहेको नेपाल स्वयंसेवी रक्तदाता समाज पञ्पपुरीको शनिबार बसेको पहिलो बैठकले पञ्चपुरी नगर भित्रका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गरेको छ ।

समाजका नगर अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा बसेको बैठकले पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा पश्चिम सुर्खेतका चर्चित सामाजिक अभियान्ता तिलकराम अधिकारी र रामप्रसाद सापकोटा रहेका छन् ।

यसअघि नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाका अध्यक्ष प्रवाशकुमार शाक्यले पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीलाई आफ्नो नगर भित्रका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउन अनुरोध गरे अनुरुपनै आज बसेको बैठकले नगरपालिकासँग निःशुल्क रक्त उपलब्ध गराउन माग गरिएको समाजका पञ्चपुरी नगरसमिति अध्यक्ष घिमिरेले जानकारी दिए ।

उनले नेपाल स्वयंसेवी रक्तदाता समाजकै पहल तथा समन्वयमा निःशुल्क रगत पाउने कर्णाली प्रदेशमै पहिलो पालिका ‘पञ्चपुरी’ बनाउने लक्ष्य राखिएको समेत बताए ।

Translate »