स्काउटरद्वारा विपद् व्यवस्थापन नमूना प्रर्दशन

सुर्खेत । नेपाल स्काउटका स्काउटरहरुले विपद् व्यवस्थापन, सचेतना तथा सुरक्षा तालिममा नमूना अभ्यास प्रर्दशन गरेका छन् ।
सुर्खेत स्थित सशस्त्र प्रहरी बल नेपाल, ६ नम्वर महेश्वरी बाहिनीमा आयोजित चार प्रदेशका स्काउटरका लागि सञ्चालित एक हप्ते विपद् व्यवस्थापन सचेतना तथा सुरक्षा तालिममा आगलागी, बाढीपहिरो, भूकम्प, महामारी जस्ता विपद्का बेला गरिने उद्दार, उपचार र राहतको नमूना अभ्यास प्रर्दशन गरिएको हो ।
नेपाल सरकार र नेपाल स्काउटको संयुक्त पहलमा आयोजित तालिममा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका ७० जना स्काउटरसँगै चार प्रदेशका स्काउट लिडरहरु एवं रोवररेन्जरहरुको सहभागिता रहेको थियो ।
तालिम समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले प्रशिक्षार्थी स्काउटरलाई विपद् व्यवस्थापन, सचेतना तथा सुरक्षा तालिमबाट सिकेकार ज्ञान तथा कौशललाई सुदूर ग्रामीण क्षेत्रसम्म पु¥याउन आग्रह गरे ।
उनले नेपाल स्काउट देशकै पुरानो स्वयंसेवी संस्थालाई कर्णाली प्रदेश सरकारले केही दिन नसकेपनि अब आउँदा दिनहरुमा पूर्ण सहयोग तथा समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्वयंसेवी स्काउटरले विपद्का बेला समाज तथा मानव सेवाभावले ओतप्रेत भएर गरेको योगदान उल्लेखनीय रहेको बताए ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटलाई राज्यले जति सहयोग गर्नुपर्ने थियो त्यो अझै अपुग हुँदा देशभर स्काउटको संरचना विस्तारमा ढिलाई भईरहेको जानकारी दिए ।

उनले स्काउटिङ्गलाई सहरदेखि गाउँसम्म लैजाने अभियानलाई सफल पार्न सहयोगी हातहरु र निरन्तरर हौसलाको आवश्यकता रहेको औल्याए ।
स्काउटका कर्णाली प्रदेश संयोजक कमल बोहराले बाढि, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट कर्णाली उच्च जोखिममा रहेकाले सचेतनासँगै प्रशिक्षित स्वयंसेवीहरु तयार गर्नु नेपाल स्काउटको मुख्य उद्देश्य रहेको बताए ।
उनले प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थामा नेपाल स्काउटले कर्णाली प्रदेश लक्षित कार्यक्रमलाई थप विस्तार गर्ने योजनामा रहेको जानकारी दिए ।
नेपाल स्काउटका मुख्य प्रशिक्षक पवन कोइरालाले तालिममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यास अन्तर्गत बाढि, पहिरो, आगजनी तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट बच्ने र बचाउने उपायका बारेमा प्रशिक्षण दिईएको बताए ।
नेपाल स्काउटका प्रशिक्षक कोइराला नेतृत्वको ८ जना प्रशिक्षकसँगै नेपाल सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले चार प्रदेशका २८ महिलासहित ४२ जना पुरुष स्टाउटरहरुलाई डिजास्टर मेन्जमेन्ट एवारनेस एण्ड सेफ्टीसँग सम्बन्धित प्रशिक्षण दिएका थिए ।