कांग्रेसमा बल्झ्यो विवाद : देउवापछिको वरीयतामा खड्का कि कोइराला ?

काठमाडौं  । मंसिर १६ गते कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भयो । पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका अधिकांश नेता सम्मेलनमा उपस्थित भए । तर, उपसभापति पूर्णबहादुर खड्का सम्मेलनमै गएनन् । बुधबार पार्टीको मधेस प्रदेश सम्मेलनमा फरक दृश्य देखियो। उपसभापति खड्का सम्मेलनमा देखिए, कोइराला गएनन् ।

सत्तासीन कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवापछिको ‘दोस्रो वरीयतामा को हुने’ भन्ने विवाद चर्किंदै गएको छ । १४औं महाधिवेशनमा देउवासँग चुनाव लडेका डा. कोइराला वरीयतामा माथि कि महाधिवेशनबाट निर्वाचित उपसभापति खड्का भन्ने विवादले कांग्रेसमा रडाको मच्चिँदै गएको छ । वरीयता विवादकै कारण डा. कोइराला उपस्थित हुने कार्यक्रममा उपसभापति खड्का नजाने, खड्का उपस्थित हुने कार्यक्रममा कोइराला अनुपस्थित हुने क्रम चलेको छ ।

१४औं महाधिवेशनमा निर्वाचित भएपछि पार्टीले उपसभापति खड्कालाई दोस्रो वरीयतामा राख्ने गरेको छ । तर, संस्थापन इतर पक्ष भने वरीयतामा कोइराला माथि हुनुपर्ने अडान राख्दै आएको छ । उपसभापति खड्काले पनि यस्ता कार्यक्रममा आफ्नो मर्यादा दोस्रो नहुने भए उपस्थित नै नहुने अडान लिने गरेको उनी निकट नेताहरू बताउँछन् ।

लुम्बिनी प्रदेश समितिका लागि खड्कालाई औपचारिक पत्र नै पठाइए पनि वरीयताकै कारण खड्का अनुपस्थित भएको नेताहरू बताउँछन् । पार्टीको लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले खड्कालाई आफूले नै आमन्त्रणपत्र बुझाएको जानकारी दिए । प्रदेश सभापति अमरसिंह पुनका अनुसार निर्वाचित ‘मर्यादाक्रमअनुसार राख्ने भएमात्रै कार्यक्रममा आउँछु’ भन्ने जवाफ खड्काले दिएको बताए । केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टीको विधानअनुसार सभापतिपछिको मर्यादाक्रममा उपसभापति हुने तर्क गर्छन् । ‘अहिलेका सभापति (शेरबहादुर देउवा) ले पनि विगतमा सभापतिको चुनाव हार्नु भएको थियो,’ खतिवडाले भने, ‘त्यसबेला उहाँले वरिष्ठ नेताको पद माग्नु भएको थियो र ? चुनावमा हारिसकेपछि वरीयता खोज्नु राम्रो होइन ।’

कार्यकारी पार्टी सभापति बनिसकेका कारणमात्रै विगतमा रामचन्द्र पौडेललाई वरिष्ठ नेताको पद दिइएको खतिवडाको तर्क थियो । गण्डकी प्रदेश सम्मेलनमा भने शेखरलाई दोस्रो वरीयतामै राखिएको थियो । गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा कोइराला निकट हुन् । गएको सोमबार नुवाकोट कांग्रेसले जिल्ला सम्मेलन गर्दा सभापति देउवापछिको वरीयतामा कोइरालालाई राखेका थिए। देउवा प्रमुख अतिथि थिए ।

बागमती प्रदेशसभामा खड्कालाई दोस्रो वरीयता 

कांग्रेसको बागमती प्रदेश समितिको पहिलो सम्मेलन शनिबार हुँदैछ । कार्यक्रममा देउवापछि उपसभापति खड्कालाई दोस्रो वरीयतामा राख्ने तयारी भइरहेको छ । बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले भने, ‘हाम्रो पार्टीमा अहिले वरिष्ठ नेता यो भनेर माइन्युट गरिएको छैन । त्यसैले माइन्युट नगरेको विषयमा टेन्सन नगरौं। पार्टीको वेभसाइटमा मर्यादाक्रम निर्धारण गरिएको छ । त्यही प्रक्रियाअनुसार अघि बढ्छौं ।’

बागमती प्रदेश सम्मेलनमा कोइरालालाई कार्यक्रममै बोलाइएको छैन । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘बागमती प्रदेश सम्मेलनको विषयमा कुनै जानकारी छैन । निमन्त्रणा छैन । हामी विराटनगरमा छौं,’ उनले भने। उपसभापति खड्का भने कार्यक्रममा सहभागी हुने प्रदेश सभापति बानियाँले जानकारी दिए ।

पार्टीको वेभसाइटमा भएको पदाधिकारीको मर्यादाक्रममा उपसभापति खड्का दोस्रो नम्बरमा छन् । कोइराला २५ औं नम्बरमा छन् । महाधिवेशनलगत्तै बसेको पहिलो बैठकमै वरीयतालाई लिएर विवाद भएको थियो । कोइरालाले महाधिवेशनमा आएको मतले नै वरीयता निर्धारण गरिसकेको तर्क गर्दै आएका छन ।

१४औं महाधिवेशनमा कांग्रेसका १ सय ३४ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । बाँकी ३३ जनालाई सभापतिले मनोनीत गर्ने विधानको व्यवस्था थियो। साथै सभापतिमा पराजित स्वतः केन्द्रीय सदस्य हुने विधानकै व्यवस्था छ ।

मधेस प्रदेश सम्मेलनमा छरपष्टै 

बिहीबार भएको कांग्रेसको मधेस प्रदेश सम्मेलनमा वरीयताको विवाद छरपष्टै भयो कोइराला पक्षीय नेताहरूले सम्मेलन बहिष्कार गरे । अर्का नेता विमलेन्द्र निधिले आसनग्रहण गर्न मानेनन् । पूर्वउपसभापति निधिलाई मञ्चमा आसनग्रहणका लागि पटकपटक बोलाइएको थियो । तर, उनी गएनन् ।

आसनग्रहणको मर्यादा क्रमबाट उनी पनि असन्तुष्ट देखिन्थे । मधेस प्रदेश सम्मेलनको अघिल्लो दिनमा कांग्रेसका आठ नेताले सभापति देउवालाई पत्र पठाउँदै कोइरालालाई दोस्रो वरीयता दिन माग गरेका थिए । कांग्रेस विधानमा वरिष्ठ नेताको पदको व्यवस्था छैन । सभापतिमा पराजित नेतालाई वरिष्ठ नेताका रूपमा यदाकदा कांग्रेसले समेट्दै आएको छ ।  अन्नपूर्ण पोष्ट

 

 

Translate »