बाघको आक्रमणबाट बालकको मृत्यु

गुलरिया । बर्दियामा पाटेबाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४, बैरिया गाउँ बस्ने १२ वर्षका सुमित थारुको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
शनिवार दिउँसो बबई नदीमा नुहाउन गएका बेला बाघको आक्रमणमा परी घाइते भएका सुमितको उपचारका क्रममा मृत्यु भएको हो ।

आर.सी. थारु मेमोरियल अस्पताल जयनगरमा उपचारको क्रममा घाइते बालक सुमितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
उनले बालक जिरा सामुदायिक वन भित्र प्रवेश गरेको र त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको बताए ।उनका अनुसार शबको पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईनेछ ।