‘सरकारको नेतृत्व हस्तान्तरण गर्नेबारे छलफल भएको छैन’

विराटनगर । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सरकारको नेतृत्व हस्तान्तरण गर्ने विषयमा अहिले कुनै पनि छलफल नभएको बताएकी छिन् ।
प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई अढाई वर्ष अहिलेकै नेतृत्वले सरकार सञ्चालन गर्ने विषयमा सम्झौता भएकाले अहिलेको सरकारको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारिन् ।

यो सरकार गठन भएको एक वर्ष पुरा हुन लागेकाले अबका दिनमा गियर चेन्ज गरेर सरकारले हाई स्पिडमा काम गर्ने उनले बताईन् । प्रधानमन्त्रीको चाहना पनि नयाँ ढङ्गबाट सरकार अघि बढ्नु रहेकाले सरकारले अब द्रुत गतिमा काम गर्ने उनले जनाईन् ।

विविध सीमाका बाबजुद सरकारले उल्लेखनीय काम गरेको र अझै नयाँ ढंगले सरकार अघि बढ्नुपर्नेमा मन्त्री शर्माले जोड दिईन् ।

सरकारले नक्कली भुटानी शरणार्थी ललिता निवास जग्गा प्रकरण जस्ता विषयलाई उठाएर गल्ती गर्नेलाई कारबाही प्रक्रियामा ल्याएर सुशासन कायम गर्न सफल भएको उनको भनाई थियो ।

मन्त्री शर्माले सरकारले दूर दराजमा नयाँ शैक्षिक सत्र लाग्नेबितिकै सहज रुपमा पाठ्यपुस्तक पुर्‍याउनुका साथै किसानलाई मल बीउको सहज व्यवस्थापन गरेको र मिटर ब्याज पीडितहरूलाई न्याय दिन सरकार सफल भएको बताईन् ।

मन्त्री शर्माले सरकारी मिडियालाई स्वायत्त र स्वतन्त्र बनाउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै मिडियाहररुले पनि सरकारले गरेको राम्रा कामलाई निष्पक्ष रुपमा जनता सामु पुर्‍याउने गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिईन् ।

उनले जनताको आशा र आकाङ्क्षालाई सरकार समक्ष पुर्‍याउने गरी मिडियाहरूले सरकार र जनताबिचको पुलको काम गर्नुपर्ने बताईन् । एनसेल प्रकरण समाधानका लागि अध्ययन तथा छानबिन समिति बनाएको र त्यो समितिले काम गरिरहेको उनको भनाइ छ ।

Translate »