सुर्खेतसहित भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप दिने तयारी पुरा

सुर्खेत ।  सुर्खेतसहित भूकम्प प्रभावित जिल्लाहरुमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।

जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको सञ्चारकर्मीहरुसँगको  अन्तरक्रिया कार्यक्रममा विहीबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका सम्पूर्ण तयारीहरु पुरा भएको जानकारी दिएको हो ।

सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान दुई चरणमा शुरु हुनेछ । पहिलो चरण पुस १२ देखि १५ गतेसम्म जिल्लाका लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन गरिनेछ ।

त्यसपछि दोस्रो चरण पुस २१ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जन स्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।

उनले टाइफाइडविरुद्ध खोप अभियानबाट सुर्खेतका १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख भन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको बताए । उनका अनुसार खोप अभियान सम्बन्धित पालिकाका वडा स्थित स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने छन् ।

खोप अभियानमा सुर्खेत मात्र करिब दुई हजार स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने जन स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन उदय विसीले जानकारी दिए ।

टाइफाइटको उच्च जोखिम रहेका जाजरकोट, पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा पनि टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गरिने छ ।

Translate »