हिउँदे वर्षा नहुँदा कृषक चिन्तित

सुर्खेत ।  हिउँदे वर्षा नहुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँदे बाली सुक्न थालेको छ । यो वर्ष आधा पुस वितिसक्दा समेत वर्षा नभएपछि यस क्षेत्रका कृषक चिन्तित हुन थालेका छन् । असोजदेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो । खडेरीका कारण लगाईएको गहुँ, जौँलगायतका बाली सुक्न थालेपछि कृषकलाई भोगमरीको चिन्ता सताउन थालेको छ ।

लामो समयसम्मको खडेरीका कारण कर्णाली र सुदरपश्चिम प्रदेशमा गहुँ, जौँ, मसुरोलगायत बालीको उत्पादनमा कमी हुने अनुमान गरिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने भन्ने चिन्ता सताउन थालेको बझाङको जयपृथ्वी नगरपालिका–१, का कृषक बिर्ख सिंहले बताए।

आकासे पानीको भरमा खेती गरिने ती प्रदेशका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेको छ । बझाङ जिल्लामा एघार हजार चार सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकोमा  ७ हजार ६ सय जमिनमा मात्रै सिँचाइको सुविधा रहेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर बिष्टले बताए ।

सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदे बाली लगाएपछि पानी नपरेका कारण बाली सुक्न थालेको बझाङकै बित्थडचिर गाउँपालिका–९ का अर्का किसान कुबेर जोशीले जानकारी दिए । जिल्लाका अन्य क्षेत्रमा समेत बाली सुक्न थालेको कृषकले बताएका छन्।

कतिपय ठाउँमा सिँचाइका लागि पानी भएपनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको छ । खेतीकै भरमा जीविकोपार्जन गरिरहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका कृषक उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका हुन् ।

बझाङमा १५ देखि २५ प्रतिशत गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको कृषि विज्ञहरु बताउँछन् । यस वर्ष  मात्र  ५० प्रतिशत अनुदानमा ६० क्विटल जति उन्नत प्रजनन् जातको गहुँ कृषकलाई वितरण गरिएको थियो ।

Translate »