कर्णाली प्रदेश प्रमुख परियारबाट तमु ल्होसारको शुभकामना

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएकाले गुरुङ समुदायको तमु ल्होसारले भावनात्मक एकताको सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

‘लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई देशले अंगीकार गरेको छ,’ उनले भने, ‘त्यसैले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर राष्ट्र हो ।’

उनले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता रहेको बताए ।


पर्वको अवसरमा तमु जाती तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न उनले अपिल समेत गरे ।

तमु जातीमा नयाँ वर्षको आगमनको खुसीयालीस्वरुप विशेष उत्साह र उमङ्गताकासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने उनको विश्वास छ ।

तमु ल्होसारमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको पाइन्छ ।

Translate »