राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुर्खेतमा निर्वाचन कार्यालय स्थापन
सुर्खेत । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० का लागि आज सुर्खेतको वीरेन्द्रनगरमा स्थित प्रदेश निर्वाचन कार्यालय परिसर भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन अधिकृत विष्णुप्रसाद अर्याल र सहायक निर्वाचन अधिकृत उज्ववल रावलले जिल्ला स्थित सुरक्षा निकाय तथा निर्वाचन अधिकारीहरुसँग निर्वाचन तयारीका बारेमा छलफल गरेका छन् ।
निर्वाचन आयोगको निर्देशानुसार कार्यालय स्थापना भएसँगै कर्णाली प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक तयारीका कामहरु शुरु भईसकेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनले निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरु अघि बढ्ने बताए ।
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट तीन पद मध्ये एक महिला, एक दलित र एक अन्यका लागि १ सय ९६ जना मतदाता रहेको उनले जनाए । स्थानीय तह तर्फ २ हजार ९ सय ६४ मतभार रहेको भने प्रदेश सभातर्फ २ हजार १ सय २० मतभार रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईले बताए ।
उनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दुई वटा मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय परिसरमै निर्माण हुने जानकारी दिए । देशैभरीबाट २० जना निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरु मध्ये कर्णालीमा तीन सदस्यका लागि निर्वाचन हुनेछ ।