कर्णालीमा ‘गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड–२०८०’ जारी

सुर्खेत ।  पशु कल्याणको अवस्थामा सुधारका लागि कर्णाली प्रदेश सरकारले गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड–२०८० जारी गरेको छ । असल अभ्यास अवलम्बन गर्दै पशुजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आर्थिक लाभ बढाउने उद्देश्यले प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयले व्यावसायिक पशुपालन फर्महरुले अवलम्बन गर्नुपर्ने गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड जारी गरेको हो ।

गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड जारी भएसँगै अब व्यावसायिक फर्महरुले पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव हुन नदिने, भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने, पिडा, चोटपटक र रोगब्याधीबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार गर्नु पर्नेछ ।

व्यावसायिक रुपमा पालिएका गाईभैंसीको कल्याण सम्बन्धी आधारभूत पक्षहरुलाई समेट्दै समग्र पशु अधिकारको सुनिश्चितताका लागि गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड जारी गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर नरहरिप्रसाद घिमिरेले जानकारी दिए ।

उनले पशु कल्याण सहितको मापदण्डले स्वास्थ्यकर पशुजन्य उत्पादन उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई समेत सुनिश्चित गरी समुन्नत समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गाईभैंसीप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्नको लागि पशु सेवा ऐन २०५५ को मर्म र भावनाअनुसार मापदण्ड तयार गरिएको उनको भनाइ छ ।

पुस ४ गतेदेखि लागू गरिएको मापदण्ड अनुसार गाईभैंसीलाई पैदल, ट्रक वा पिकअप गाडीमा राखेर ढुवानी गर्दा हलचल गर्न सक्ने, घाउचोट नलाग्ने, अत्याधिक तातो वा चिसोबाट बचाउने, एकअर्कामा ठोक्किएर अङ्गभङ्ग नहुनेगरी ढुवानी गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

गाईभैंसी व्यवसायीहरुले गाईभैंसी पालन गर्दा मापदण्डले तोकेअनुसारको व्यवस्था गरेमा प्रोत्साहन गर्ने र उल्लंघन गरेको खण्डमा सरकारी अनुदान रोक्कासहित कार्वाहीका लागि सिफारिस गर्ने नियम बनाईएको छ ।

हाल गाईभैंसीका लागि मात्रै मापदण्ड बनाएको भएपनि छिट्टै समग्र पशु कल्याण सम्बन्धी मापदण्डहरु बनाइने मन्त्रालयका सचिव घिमिरे बताए ।

असल अभ्यास अवलम्बन गर्दै पशुजन्य उपजको उत्पादकत्वसँगै स्वच्छता अभिवृद्धि गरी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय, स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिल प्रालि वीच सहकार्य गर्ने समेत समझदारी भएको उनले जानकारी दिए ।

 

Translate »