माओवादी पत्रकार सम्मेलन : विशेष रूपान्तरण अभियान व्यवस्थित र उत्साहजनक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीले चलाएको विशेष रूपान्तरण अभियान व्यवस्थित र उत्साहजनक भएको बताएको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गरेर पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रूपान्तरण अभियान सफल भएको बताए ।

प्रवक्ता सापकोटाले विशेष रूपान्तरण अभियानले सङ्गठनलाई गतिशील र सक्रिय बनाएको बताउँदै जनताका पार्टीप्रति नयाँ आशा र उत्साह पैदा गरेको जनाए ।


विशेष अभियानका क्रममा पार्टीभित्रका, जनवर्गीय सङ्गठन र मोर्चाको अन्तर्विरोध सतहमा आएको, धेरै अन्तर्विरोधहरू हल भएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको बताउँदै विचार, कार्यदिशा तय गरी समाजवादी विचारको आधार तय गर्न भने नसकेको स्पष्ट पारे ।

प्रवक्ता सापकोटाले सरकारको एक वर्षे कार्यकालले शिक्षा दिएको बताउँदै सरकार सामाजिक न्याय सहितको समृद्धिको बाटोमा निरन्तर लागिरहेको बताए ।

सरकारले सोचेजति गर्न नसकेपनि समय परिस्थिति अनुसार उपलब्धि हासिल गरेको बताउँदै प्रवक्ता सापकोटाले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सामान्य छलफल भएपनि निष्कर्षमा पुगी नसकेको जनाए । रेडियो नेपाल/रासस

Translate »