प्रेस चौतारी सुर्खेतको माघ ५ गते वार्षिक साधारण सभा हुने

सुर्खेत । प्रेस चौतारी नेपाल, सुर्खेतको वार्षिक साधारण सभा माघमा हुने भएको छ । चौतारी सुर्खेतको आज बसेको नवौं पूर्ण बैठकले माघ ५ गते वीरेन्द्रनगरमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सुर्खेत जिल्ला अध्यक्ष गोविन्द खत्रीको अध्यक्षतामा बसेको बैठकले श्रमजीवि पत्रकारको हक, हित र अधिकार प्राप्तिका लागि विभिन्न फोरमबाट उच्च वकालत गर्ने निर्णय गरेको छ । बैठकले वार्षिक साधारण सभालाई भव्यरुपमा सफल पार्न विभिन्न संघ संगठनसँग समन्वय तथा सहयोग लिने र कार्यसमितिका सम्पूर्ण सदस्यलाई परिचालन समेत गर्ने निर्णय भएको चौतारी सुर्खेतका सचिव मुना हमालले जानकारी दिईन् ।

उनले चौतारीलाई सुर्खेतमा गतिशील बनाउँदै जिल्लाका नौ वटै पालिकामा चौतारी गठन गर्ने निर्णय भएको बताईन् । उनका अनुसार बैठकमा एक लाख राशीको डिल समृति पत्रकारिता पुरस्कारका लागि आवश्यक तयारी समेत पुरा भईसकेका छ ।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आकाश तारा बयक र प्रमुख अथिति नेकपा एमाले सुर्खेत जिल्ला सचिवालय सदस्य तथा चौतारी पार्टी इन्चार्ज गंगाराम तिमिल्सिनाको सहभागिता रहेको थियो ।