प्रहरी नायव निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मैनापोखरस्थित इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएर गएको टोलीले प्रहरी नायब निरीक्षक पवन साउदलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मङ्सिर १२ गते नियन्त्रणमा लिएको थियो ।

साउदलाई ३० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
अनुसन्धानको सिलसिलामा प्रहरी नायब निरीक्षक साउदले लागू औषध मुद्दामा सहजीकरण गरिदिने कार्यको लागि ३० हजार रुपैयाँ घुस माग गरेको पाइएकाले उनी विरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।